उमेर नपुग्दै हुने विवाह र सानै उमेरमा गर्भधारण गर्दा युवती तथा किशोरीहरूको स्वास्थ्यमा असर हुँदै आएको छ ।
२० वर्ष मुनिका युवतीहरूले गर्भधारण गर्दा स्वास्थ्य जोखिम अवस्थामा रहने कपिलवस्तु अस्पतालका निमित्त मेसु बिपिन जायसवालले बताउनु भयो । उमेर नपुगेका युवती तथा किशोरीहरूले गर्भधारण गर्दा ज्यान जोखिममा रहने, गर्भमा राम्रोसँग हेरचाह गर्न नसक्ने, बच्चा जन्मिएपछि स्याहार सुसार नहुने, स्वास्थ्यमा नकारात्मक असर पर्ने, पछि गएर आङ् खस्ने, पाठेघरको मुखमा क्यान्सर हुने सम्भावना बढी हुने भएकोले बालविवाह स्वास्थ्यको लागि एकदमै गलत भएको उहाँले बताउनु भयो ।
जायसवालले १२ हप्ताभन्दा माथिको गर्भको लिङ्ग पहिचान गरी खेर फाल्नु कानुनी दण्डनीय अपराध भएको हुँदा यस्तो खाल्को सेवा लिनेदिने दुबैलाई सजाय हुनुपर्छ भन्ने विषयमा यस मानव अधिकारको क्षेत्रमा काम गर्ने यस इन्सेक संस्थाले खबरदारी गर्नु पर्ने बताउनु भयो । लिङ्ग परीक्षण गरी गरिने गर्भपतनले महिलाहरूको स्वास्थ्यमा ठूलो असर पर्दै गएको निमित्त मेसु जायसवालले उल्लेख गर्नुभयो ।
जायसवालका अनुसार पछिल्लो समय कपिलवस्तु भ्रुण हत्याको हब बन्न थालेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । कानुनले १२ हप्ता सम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको भए पनि भ्रुण पहिचान गरि भ्रुण हत्या गराउनका लागि भारतिय नागरिक समेत कपिलवस्तुको तौलिहवामा आउन थालेको निमित्त मेसु जायसवालले बताउनु भयो । गर्भपतन गराउन मान्यता प्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य प्रदायक संस्थालाई मात्रै स्विकृती छ ।
तर तौलिहवाका केही निजी स्वास्थ्य क्लिनिकले ठूलो रकम असुल गरि भ्रुण पहिचान गरी भ्रुण हत्या गर्ने गरेको उहाँले बताउनु भयो । आफुले आफना निकायमा सो बिषयको जानकारी गराएको भए पनि कुनै कारबाही हुन नसकेको बताउनु भयो ।
कपिलवस्तु अस्पतालमा आर्थिक वर्ष ०७९/८० मा २० वर्ष मुनिका ४४ जना युवतीले गर्भ परीक्षण गराएका थिए । उमेर नपुगेका ६१ जना युवती प्रसुती भएका थिए भने ३० जना युवतीले १२ हप्ताभन्दा माथिको गर्भपतन गराएका थिए । यस्तै ०८०/८१ मा २० वर्ष मुनिका २५ जना युवतीले अस्पतालमा प्रसुती गराएका छन् भने चार जनाले गर्भजाँच गराएका छन् । १२ हप्ताभन्दा माथि यस आर्थिक वर्षमा गर्भपतन नभएको अस्पतालका निमित्त मेसु जायसवालले जानकारी दिनुभयो ।
१२ हप्तासम्म लिङ्ग पहिचान नगरी गर्भपतन गर्न पाउने अधिकार भए पनि १२ हप्ता पछाडि विषेश परिस्थितीमा जबरजस्ती करणीबाट रहेको गर्भ, मानसिक अवस्था नाजुक, शारीरिक अवस्था नाजुक, गर्भमा रहेको बच्चा अपाङ्ग, वंशाणुगत रोग भएको वा बच्चा जन्मेपछि बाँच्न नसक्ने अवस्था देखिएमा र कुनै पनि कारणले आमाको ज्यान जोखिममा रहेको अवस्थामा पारिवारिक र स्वयंम व्यक्तिको जोखिमपूर्ण मञ्जुरी पश्चात तालिम प्राप्त चिकित्सकबाट स्वीकृति प्राप्त संस्थामा मात्र गर्भपतन गर्ने व्यवस्था रहेको छ ।
लिङ्ग पहिचान गरी कानुन विपरीत गर्भपतन गराउने प्रवृत्तिले महिला माथिको हिंसालाई प्रोत्साहित गरेको हुँदा यस्ता मुद्धालाई सतहमा ल्याउन मानव अधिकारकर्मी लगाएतका विभिन्न संस्थाहरूले सहयोग गर्नु पर्ने मेसु जायसवालले बताउनु भयो ।