समाज कल्याण परिषद्का प्रतिनिधि सम्मिलित टोलीले धनकुटामा बितेको अढाई वर्षको अवधिमा इन्सेकले परियोजनामार्फत सम्पादन गरेका कार्यहरू र त्यसको प्रभाकारीतसाथै मूल्याङ्कनका विषयमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय मानव अधिकार, कोशी प्रदेश कार्यालय प्रमुख, जिल्ला समन्वय समिति उप-प्रमुख, मानव अधिकारकर्मी र पत्रकारहरूबिच समाज कल्याण परिषद्का प्रतिनिधिहरूले ०८० फागुन १९ गते धनकुटामा इन्सेकको कार्यको मूल्याङ्कन गरेका हुन् ।

समाज कल्याण परिषद्, सङ्घसंस्था अनुगमन शाखाका परामर्शदाता रविन राई, सुनिल चन्दसहित इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारी र धनकुटा जिल्ला प्रतिनिधिको टोलीले धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाली सेना भीमदल गणका प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरी, सशस्त्र प्रहरी बल धनकुटाका डिएसपी सुधनप्रसाद भारतीसँग प्रहरी चौकी, हिलेमा भेट गरी अनुगमन टोलीले इन्सेकले जिल्लामा मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि गरेका प्रयास र सरकारी निकायसँग के कस्तो समन्वय गर्दै आएको छ, सो विषयमा जानकारी लिएको छ ।
अनुगमन टोलीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले इन्सेकसँग सहकार्य भइरहेको र निरन्तर रहने बताउनु भयो । जिल्लामा मानव अधिकारसँग जोडिएका विषयमा आफूहरू गम्भीर र कतिपय सुशासनका लागि गरेका कार्यलाई मानवअधिकार उल्लङ्घन भन्दा पनि न्यायको लागि गरेका काम भनेर बुझ्नुपर्ने बताउनु भयो । उहाँले राज्यले प्रत्याभूत गरेका मानव अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने र त्यसका लागि साझेदारी निकायका रूपमा इन्सेकलाई लिएको बताउनु भयो । उहाँले आत्महत्याका समाचार प्रकाशनले त्यसमा बढोत्तरी हुने भएका यस्ता विषयमा पत्रकारहरूलाई सचेत गराउन इन्सेकले नेतृत्व लिन आवश्यक भएको बताउनु भयो ।
सो अवसरमा इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरी, र सशस्त्र डिएसपी सुधनप्रसाद भारतीलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्नु भयो ।
त्यसैगरी समाज कल्याण परिषद् टोलीले इन्सेकले सञ्चालन गरेका कार्यक्रमको उपलब्धी, सिकाई र चुनौतीका विषयमा अधिकारकर्मी र पत्रकारहरूबिच छलफल गरेको छ । समाज कल्याण परिषद्का प्रतिनिधिहरूले जिल्लामा मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । उहाँहरूले इन्सेकले जिल्लामा भएका घटनाहरूमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेख गर्ने र राज्यका निकायलाई जिम्मेवार बनाउने विषयमा के कसरी काम गरिरहेको छ ? भन्ने कुराको जिज्ञासा राख्नु भएको थियो ।
समाज कल्याण परिषद्का प्रतिनिधिहरूको जिज्ञासामा इन्सेकले जिल्लामा सबैसँग सहकार्य गरेर काम गरिरहेको र आगामी दिनमा समेत सहकार्यको अपेक्षा रहेको अधिकारकर्मी र पत्रकारहरूले बताए ।
नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारसँग जोडिएका विविध सवालको सूचनाको स्रोत भएकाले वर्ष पुस्तक किताब मात्र नभएर दस्तावेज भएको गैरसरकारी संस्था महासङ्घ, धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदीले बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तकको सूचनाका आधारमा धेरै ठाउँमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका तथ्याङ्क प्रस्तुत गरेको बताउँदै यसको प्रभावकारीता निकै रहेको बताउनु भयो ।
हुसाडेक नेपालका अध्यक्ष सरोजकुमार भुजेल तथा महासचिव मुकुन्दप्रसाद अधिकारीले दातृ निकायको सहयोगमा इन्सेकले गरीरहेको काम अनुकरणीय भएकाले सरकारी तबरबाट यस्ता कार्यक्रम हुनुपर्ने बताउनु भयो । उहाँहरूले तथ्य सङ्कलनमा सबैको सल्लाहमा काम गर्ने गरेको बताउनु भयो ।
पत्रकार महासङ्घका अध्यक्ष नगेन्द्र राई, सचिव हरिबहादुर लम्जेल, कान्तिपुर दैनिकका धनकुटा सम्वाददाता रमेशचन्द्र अधिकारी, रेडियो वरूणका अध्यक्ष शोविस चेम्जोङ र इमेज टेलिभिजनका धनकुटा सम्वाददाता विकास घिमिरेले वर्ष पुस्तक सानो आकारको रहोस् भन्ने कामना रहेको भएपनि समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनामा कमी नभएको बताउँदै जिल्लामा कतिपय घटनामा इन्सेकको स्रोतका कारणले आफूहरूलाई सहज भएको बताउनु भयो । उहाँहरूले वडाध्यक्षले नागरिकताको लागि सिफारिस नदिँदा इन्सेकले गरेको पहल कदमी होस या मजदुरले ज्याला नपाउँदा गरेको पहल कदमी अनुकरणीय रहेको बताउनु भयो । यस्तै हाल दूध किसानले दूध बेचेको पैसा नपाएको विषयमा विशेष पहल गर्नुपर्ने बताउनु भयो ।
मानव अधिकार एलायन्स कोशी प्रदेश सचिव निलबहादुर थापा र धनकुटा सचिव खिन्द्र अधिकारीले धनकुटामा इन्सेकसँगको सहकार्य विभिन्न मानव अधिकार सम्बन्धी काम तथा कार्यक्रम गरेको बताउँदै यो सहकार्यको सधैँ अपेक्षा रहेको बताउनु भयो । उहाँहरूले वर्ष पुस्तक प्रकाशन बेला स्थानीय तहका सरोकारवालासँग छलफल गरिनुपर्ने सुझाव दिनु भएको थिए ।
दुवै चरणको छलफल कार्यक्रममा समाज कल्याण परिषद्का प्रतिनिधि, इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र धनकुटा प्रतिनिधिको सहभागिता थियो ।




