चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद ६ वर्षसम्म समाधान भएको छैन । केन्द्र विवाद नटुङ्गिदा पालिका भित्रको भौतिक पूर्वाधार निर्माणदेखि सार्वजनिक सेवा प्रवाहमा स्थानीय नागरिक तथा सेवाग्राहीलाई समस्या भइरहेको छ ।
राजनीतिक दलका नेताहरुको आ–आफ्नो स्वार्थको कारण चिङ्गाड गाउँपालिका केन्द्रविहिन भएको छ । चिङ्गाड –३ का नागरिक अगुवा चिमानबहादुर रानाले ६ वर्षसम्म केन्द्रको टुङ्गो नलाग्दा आफुलाई समस्या भएको । चिङ्गाड गाउँपालिका –३ नागरिक अगुवा चिमानबहादुर रानाल बताउनुभयो ।
‘सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने कार्यमा दलहरुबीच भएको विवाद अहिलेसम्म पनि समाधान नहुँदा हामीले दुःख पाइरहेका छौं,’उहाँले भन्नुभयो, ‘पालिकाको केन्द्र नबन्दा स्वयम् जनप्रतिनिधिलाई समेत कठिनाई भइरहेको छ ।’
उहाँका अनुसार पालिकाको केन्द्र नहुँदा दह, च्यारकुले, पाखापानी, गोगने, लावन रजेना, काउले कोटिला, पारीलेख रहकुल, बाटासाल, डाँडाखर्क, काँडा पोखरी पुङ, काँडा घुओनी, अवल घुओनी, पाईले वडा काँडा धनपानी, देउला सिंहला, मटेला जोगाडा, चद्रर्के, पाम्का, टोट्का र पुडे सिमीलगायत गाउँका नागरिकले समस्या भोग्दै आएका छन् ।
केन्द्र विवाद हुँदा आफुलाई समस्या परेको चिङ्गाड–४ की अर्की स्थानीय वर्षा नेपालीले बताउनुभयो । ‘योजना सम्झौता गर्न दिनभर पैदल हिँडेर पालिका आएको,’उहाँले भन्नुभयो, ‘पालिकाको केन्द्रकने विवाद रहेको भनेर योजना नै सम्झौत भएन ।’ यसको असर वडामा समेत परेको उहाँले गुनासो गर्नुभयो । पालिका केन्द्रका लागि पर्याप्त भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा चिङ्गाडको ‘ढाँडखेत’ उपयुक्त स्थान हो । पालिकाको वडा नम्वर २ स्थित ‘ढाँडखेत’ केन्द्रविन्दु बनाउन बहुसङ्ख्यक नागरिक जोडतोडले लागेपनि अदालतको विचाराधिन मुद्दा फैसलामा भइरहेको ढिलाईले विवाद समाधान हुन सकिरहेको छैन ।
सबै प्रक्रिया पुरा भएको र राज्यको धेरै खर्च भइसकेको केन्द्रका विषयमा अदालतले ध्यान नदिएकै कारणले विवाद लम्बिदै गएको नागरिक अगुवा रानाले गुनासो गर्नुभयो । पालिका केन्द्रको टुङ्गो लाग्न नसक्दा अहिले अवलचिङ्गबाट सेवा लिन सेवाग्राहीलाई दिनभरी हिड्नुपर्ने बाध्यता छ । पालिका केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेपछि कहिले टुङ्गिने भन्ने अन्योलताले थप समस्याहरु उत्पन्न भएको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले बताउनुभयो । उहाँले पालिकाको केन्द्र तोकिएपनि सर्वोच्चमा मुद्दा परेकाले फैसलामा ढिलाइ हुँदा नागरिकमा जनप्रतिनिधिमाथि असन्तुष्टि बढ्दै गइरहेको बताउनुभयो । ‘गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने निर्णय अहिलेसम्म टुङ्गिएको छैन,’उहाँले भन्नुभयो, ‘जसले गर्दा विकास निर्माणका कामसँगै नागरिकलाई सेवा लिन समेत असहज भएको छ ।’
उहाँका अनुसार निवर्तमान उपाध्यक्ष आचार्यलगायतको टीमले सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले कुनैपनि कामकाज अगाडि नबढाउनु भन्ने आदेश दिँदा अहिलेसम्म काम रोकिएको हो ।अहिले गाउँपालिकाको केन्द्र तोक्नेदेखि भवन निर्माणको काम अलपत्र परेको छ । अदालतले छिटोभन्दा छिटो मुद्दाको किनारा लगाएपछि नागरिकलार्ई सहज हुने उहाँको भनाइ छ ।
