समाज कल्याण परिषद्का प्रतिनिधिहरुद्वारा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालय गण्डकी प्रदेशका कार्यक्रमको अनुगमन तथा सरोकारवाला निकायहरुसंग छलफल गरेको छ ।
समाज कल्याण परिषद्का विज्ञ रविन राइ र प्रतिनिधि सुनिल चन्दले माघ १६ गते इन्सेकले गरेका कार्यक्रमको अनुगमन तथा छलफल गर्नुभएको हो ।
समाज कल्याण परिषद् टोलीले इन्सेकले सञ्चालन गरेका कार्यक्रमको उपलब्धी, सिकाई र चुनौतीका विषयमा छलफल गरेको थियो । इन्सेक गण्डकी प्रमुख शिव खकुरेलले गण्डकी प्रदेशको मानव अधिकारको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले इन्सेकले जिल्लामा भएका घटनाहरुमा भएका मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनाहरुको अभिलेख गर्ने र राज्यका निकायलाई जिम्मेवार बनाउने गरेको बताउनुभयो ।
परिषद्का टोलीले इन्सेकले आर्थिक सहयोग गरेका हिंसामा परेको पीडित महिलाहरुसंग भेटघाट गरि उहाँहरुको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।
परिषद्का राईले इन्सेकले गर्ने मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेख कसरी गरेको छ तथा मानव अधिकारको अवस्थाप्रति सरोकारवाला निकायलाई कसरी प्रत्यक्ष जिम्मेवार बनाएको छ भन्ने कुराको जिज्ञासा राख्नुभएको थियो ।
प्रमुख खकुरेलले गण्डकी प्रदेश सरकारले पनि मानव अधिकार उल्लघङलाई न्यूनीकरण गर्न सहयोग गरिरहेको बताउनुभयो । इन्सेकले गण्डकी प्रदेश सरकारलाई मानव अधिकारकारको क्षेत्रमा नीति तथा योजनामै बजेट विनियोजन गर्न सुभाव तथा दवाब दिइराखेको र सोही अनुरुप प्रदेश सरकारले नीति तथा योजनामा मानवअधिकारको क्षेत्रलाई सम्बोधन गरेको बताउनुभयो ।
साथै उहाँले इन्सेकले हिंसामा परेका महिलाहरुलाई न्यायमा पहुँचको लागि आर्थिक तथा कानुनी सहयोग गरेको जानकारी दिनुभयो ।
उक्त छलफलमा सयपत्री समाजका गिरिधारी सुवेदीले इन्सेकले अभिलेख गरेका घटनाहरुको तथ्याङ्क सबै भन्दा बढी महत्वपूर्ण दस्तावेज रहेको बताउनुभयो । साथै उहाँले इन्सेकका प्रकाशनहरुलाई अझ परिस्कृत गर्नुपर्ने बताउनुभयो ।
नौलो बिहानीकी संयोजक रजनी थकालीले इन्सेकले गर्ने काममा यौनिक तथा अल्पसङ्ख्यक हरुको विषयमा पनि आवाज उठाएको र आगामि दिनमा पनि हिंसामा परेका यौनिक तथा अल्पसङ्ख्यकको सवालमा पनि अझै काम गरोस भन्ने कामना गर्नुभयो ।
पत्रकार महासंघ गण्डकी प्रदेशकी अध्यक्ष बिमला भण्डारीले इन्सेकले छाप्ने समाचारहरु सत्य तथ्यमा आधारित र मानव अधिकारको सवालमा हुने बताउनुभयो । साथै उहाँले इन्सेकको तथ्याङ्क पत्रकारहरुले पनि प्रयोग गर्ने गरेको बताउनुभयो ।
उक्त छलफलमाा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुले इन्सेकले मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेर पीडितलाई न्याय दिलाउन सहयोग मात्र नभएर सरोकारवाला निकायलाई नीति नियम बनाएर कार्यान्वयर गराउन पनि क्रियाशिल रहेको बताउनुभयो ।
