आबुँखैरेनी गाउँपालिका–२ का १३ जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
गाउँपालिकाको प्राङ्गणमा माघ १५ गते आयोजित कार्यक्रममा वडा नम्बर २ का भूमिहीन सुकम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनु भयो ।
राष्ट्रिय भूमि आयोग तनहुँले गत पुस २३ गते भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरणमा आबुँखैरेनी गाउँपालिका– २ का १३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले बताउनु भयो ।
यस अगाडि गाउँपालिकाले निस्सा वितरण गरेका वडा नम्बर २ का व्यक्तिहरुको जग्गा नापजाँच पश्चात् दाबी पुगेका १३ जनालाई जग्गा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनु भयो । गाउँपालिकाबाट १६ जनाको नाम आए पनि तीनजनाको जग्गा देखिएकाले १३ लाई जग्गा वितरण गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष चुमानले पहिलो पटक वडा नम्बर २ का १३ जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने भन्दै क्रमशः सम्पुर्ण भूमिहीन सुकुम्बासी, दलित भुमिहिन र अव्यवस्थित बसोबासी हरुलाई भुमी ऐनको दायरामा रहि जग्गाधनी प्रमाणपुर्जा बितरण अभियान जारी रहने बताउनु भयो ।
२०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको हो । आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको आयोगका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।



