कोशीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सम्पन्न भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह भ्रष्टाचारको मुद्दामा निर्वाचन अघि नै निलम्वनमा परेका कारण मतदानमा सहभागी नभएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गर्नु भएको छ ।
मतदान सकिएकाले साढे ३ बजे मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत वुढाथोकीले बताउनु भयो ।
०८० फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा माघ ११ गते मतदान भएको हो ।
कोशी प्रदेशमा अन्य एक जना र महिला एक जनाका लागि चार जना उम्मेद्वार चुनावी मैदानमा हुनुहुन्छ ।
सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेद्वार हुनुहुन्छ ।
एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धब पौडेल उम्मेद्वार हुनुहुन्छ ।
कोशीमा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका सात, जनता समाजवादी र राप्रपाका चार–चार र स्वतन्त्र तीन जना छन् ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २ सय ४८, कांग्रेसको ३ हजार ६ सय ८४, माओवादी केन्द्रको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, नेकपा एकीकृत समाजवादीको ३ सय ४५, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार छ ।
मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले बताउनु भएको छ ।