INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेको कसुरमा दुई जनालाई जन्मकैदको फैसला

हत्या गरेको कसुरमा नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २८ वर्षीय तुलबहादुर सिंह र सोही नगरपालिकाको–७ बिजौराका २२ वर्षीय भूपेन्द्र बुढालाई दैलेख जिल्ला अदालतले माघ ८ गते  २५ वर्ष काराबास (जन्मकैद) फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदार दुबै जनालाई जन्मकैदको अलवा पीडित परिवारवाई एक लाख रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतका निमित्त कार्यालय प्रमुख तहसिलदार अधिकृत विकासविक्रम सिंहले जानकारी दिनुभयो ।

नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ५२ वर्षीय गगनबहादुर बिकलाई ०७९ फागुन २२ गते ढुंगा, लाठीले हिर्काइ हत्या गरेको पुष्टि भएको भन्दै कसुरदार दुबै जनालाई उक्त फैसला भएको अदालतका निमित्त कार्यालय प्रमुख तहसिलदार अधिकृत सिंहले बताउनुभयो ।

छिमेकमा विवाहको निम्तोमा लान लागेका गगनबहादुर माथि ०७९ फागुन २२ गते साँझ ७ बजेतिरको समयमा सुरुमा लछारपछार गरी ढुंगा, लाठी समेतले टाउको, छाति र ढाडमा प्रहार गरेको कारण कडा चोट लागेर अत्याधिक रगते बगेको गम्भीर घाइते भएको अवस्थामा दैलेख अस्पतालमा उपचार चलिरहँदा त्यही राति करिब ११ बजे ज्यान गएको थियो ।

मृतकको शव फागुन २३ गते दैलेख अस्पतालमा पोष्टमार्टम भयो । मृतकका छोरा प्रकाश सुनारले अस्पतालबाट शव बुझी २३ गते नै लिएको र फागुन २४ गते भन्भने टौवा भन्ने चिहानघाटमा हिन्दू धार्मिक परम्परा अनुसार परिवारजनले सद्गद गरेका थिए ।

प्रहरीले कसुरदारहरुलाई हिरासतमा राखी घटनाको सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चैत १८ गते दैलेख जिल्ला अदालतमा मनसायपूर्वक ज्यान लिएको भन्दै कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो । चैत २० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले आरोपित दुबै जनालाई पुर्पक्षका लागि दैलेख कारागार पठाएको थियो ।

दैलेख जिल्ला अदालतको इजलासमा माघ ८ गते पीडित परिवारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।

अन्य

भिडियो