
राजविराज नगरपालिका–१३ विषहरियामा ०८० माघ ८ गते भएको मधेस प्रदेश कृषि विश्वविद्यालय भवनको भूमिपूजन तथा शिलान्यास कार्यक्रममा प्रहरीको लाठी चार्जबाट मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजविराज नगरपालिका–९ मलेठका ४९ वर्षीय महेशप्रसाद यादवको टाउको फुटेको छ । उहाँ कृषि विश्वविद्यालयका सहकुलपति तथा सिनेटका अध्यक्ष समेत हुन् ।
सहकुलपतिलाई कुनै जानकारी नै नदिई कामकाज अगाडि बढाएको भनी विरोध गर्दै आउनु भएका मन्त्री यादव नेतृत्वको जुलुस सुरक्षा घेरा तोड्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्दा उहाँको टाउको फुटेको हो । शिक्षा मन्त्री यादवले आफूलाई नै जानकारी नदिएर गर्न लागिएको शिलान्यास कार्यक्रम स्थगित गर्न माघ ७ गते शिक्षा तथा संस्कृति मन्त्रालयको लेटरप्याडमा सूचना जारी गर्नु भएको थियो । मन्त्री आबद्ध जनमत पार्टीले समेत ७ बुंदे माँग राखी विश्वविद्यालयको राजविराज नगरपालिका–३ स्थित कार्यालयमा माघ ७ गते तालाबन्दी गरेको छ ।
प्रहरीको लाठी चार्जबाट मधेस प्रदेश सांसदहरू तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका ४१ वर्षीय सतिशकुमार सिंह, सप्तकोशी नगरपालिका–९ की ३४ वर्षीया रञ्जु कुमारी मण्डल खंग, सिरहाको मिर्चैया नगरपालिका–१० की २९ वर्षीया भाग्यश्री कुमारी चौधरीलाई समेत चोटपटक लागेको छ । सांसदहरूको नेतृत्वको जुलुस विरोधको नयाँ शैली अपनाउँदै फूलमाला बोकेर कार्यक्रम स्थल पुगेको थियो । सांसदहरूले बोकेको ब्यानरमा लेखिएको थियो– “सप्तरीका जनताको बिरोधका बाबजुद गैर कानुनी, गैर बैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीको जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नु भएका माननीय उपेन्द्र यादव ज्युलाई जनमत पार्टीको तर्फबाट हार्दिक स्वागत गर्दछौं । हामी सप्तरीको शान्ति र सुरक्षाका लागि बाँधिएका छौ ।”
प्रहरीको लाठी चार्जबाट मन्त्रीयादवका अंगरक्षक सहित जनमत पार्टीका नेता, कार्यकर्ताहरू निर्मल मण्डल, ऋषिकेश ठाकुर, प्रमोद ईशर, पप्पु यादव, अमरेन्द्र यादव, उमेश राज, सचितानन्द यादब, समिक्षा राणा लगायत घाइते भएको जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहले जानकारी दिनुभएको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले माघ ८ गते एक विज्ञप्ति जारी गरी मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको उक्त प्रहरी दमनको घोर–भत्र्सना गर्नुभएको छ । विज्ञप्तिमा मधेश कृषि विश्वविद्यालयको ऐन–कानुन र कार्यविधि विपरीत सो विश्वविद्यालय हेर्ने शिक्षा तथा संस्कृति मन्त्रालयको निर्णय विपरीत मन्त्रीलाई जानकारी समेत नगराई जनता समाजवादी पार्टीले पार्टीगत कार्यक्रमको रूपमा सैकडौं प्रहरी परिचालित गरेर प्रहरी घेराको बीचमा भवन शिलान्यास गरेको जनाएको छ । मन्त्री यादव कार्यक्रममा उपस्थितहुन खोज्दा र प्रमुख अतिथिको आकांक्षीलाई स्वागतगर्न फूलमाला लिएर जानुभएका प्रदेश सांसदहरू सहितका जनतामाथि प्रहरी लगाएर लाठी चार्ज गरी दर्जनौंलाई घाइते बनाइएको सो विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष राउतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवलाई अवैधानिक ढंगले प्रमुख अतिथि बनाएर शिलान्यास गर्न खोजेको भन्दै जनमत पार्टीले राजविराजमा विरोध प्रदर्शन गर्दै गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी तथा जिल्ला प्रहरी कार्यालय, सप्तरीलाई पत्राचार गरेको थियो । लोकतन्त्रको न्यूनतम मर्यादा पनि कायम नराखी मन्त्री, प्रदेश सभासद् तथा आम जनतामाथि लाठी चार्ज गर्दै नेकपा (माओवादी केन्द्र) नेतृत्वको नेपाल सरकार र जसपा नेतृत्वको प्रदेश सरकारले निरंकुश तानाशाही फासीवादी असहिष्णु चरित्र देखाएको राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घाइते जनमत पार्टीका नेता, कार्यकर्ताहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह र छिन्नमस्ता अस्पतालमा उपचार भएको छ ।
नेकपा (एमाले) सप्तरीले समेत एक विज्ञप्ति जारी गरी विकास निर्माणका कामहरू सबै राजनीतिक दलहरूको सहभागितामा हुनुपर्नेमा विरोध प्रदर्शन र विवादका बीच हुनुलाई दुर्भाग्यपूर्ण ठहर गर्दै विकासका लागि सहकार्य, समन्वय गरी एकताबद्ध भएर अघि बढन र सबैलाई संवेदनशील बन्न अपिल गरेको छ । सरकारको सहयात्री दल तथा मन्त्रीहरू बीचकै विरोधाभाष कृयाकलापले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजाकको विषय बनाएको र सरकारको असक्षमता छर्लङ्ग भएको भन्दै विज्ञप्तिमा प्रदेश मन्त्री र सांसदहरू माथि भएको लाठी चार्ज घटनाको छानबिन गर्न एमालेले माग गरेको छ ।
विरोध र विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास र भूमिपूजन मुख्यमन्त्री सरोजकुमार यादव र जसपा अध्यक्षउपेन्द्र यादवबाट सम्पन्न भएको छ ।



