सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीयबासीहरूलाई उपचार नभएको भन्दै भर्ना भएका बिरामीहरू उपचारको माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यलयमा भदौ १० गते बिहान गुनासो पोख्न पुगेका छन् ।
सिमकोट गाउँपालिका-७ का सात वर्षीय आकाश सिंह टाइफाइडको बिरामी भएपछि बिहानै ६ बजे जनस्वास्थ्य कार्यलयमा पुगेपनि डाक्टरले एक अर्कालाई उपचार गर्नको लागि सार्ने गरेकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु परेको बिरामीका आफन्त प्रकाश सिंहले गुनासो गरे ।
पीडित सिंहका अनुसार आफूले डाक्टर स्मृति महतलाई गुनासो गरेपनि उल्टै महतले धम्काइन् र न्याय खोज्न जिल्ला प्रशासनमा गए हुन्छ भनेर चेतावनी दिइन् ।
पछि बाध्य भएर जिल्ला प्रशासन कार्यलयमा धर्नाका लागि आइपुगेको सिंहले बताए । निमोनिया भएका ४ महिनाको बालक बोकेर उपचार गर्न गए पनि जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले उपचार गर्नुको सट्टा धम्काएपछि प्रशासन कार्यालयमा गुनासो पोख्न आएको खार्पुनाथ गाउँपालिका- १ का जन्म जैसीले गुनासो गरिन् ।
यतिखेर विभिन्न रोगका चार महिनादेखि सात वर्षका बालबालिका बोकेर जिल्ला प्रशासनमा धर्ना गर्न आइपुगेका छन् । गुनासो गर्न ठेहेकी मुक्ती भण्डारीलगायतका १२ जना बिरामीका बालबालिकाका अभिभावक प्रशासनमा आइपुगेका छन् ।
उक्त विषयमा सूचना अधिकारी नरेशबावु श्रेष्ठ जिल्ला बाहिर रहेकाले जानकारी नभएको बताए भने प्रमुख डाक्टर महतले फोन नउठाएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले बताएका छन् । उक्त विषयमाथि छलफल गरिने सिटौलाले बताए ।