INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पताल इलामको निःशुल्क सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा

सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गरिबीमा रहेकाहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेको भए पनि जिल्ला अस्पताल इलाममा यो सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

५० शैयामा स्तरवृद्धि भएसँगै निःशुल्क सेवा दिए बापत यो अस्पताललाई सरकारले दिनुपर्ने रकम दिन छाडेपछि सेवा बन्द गरिएको जिल्ला अस्पतालकी नायब सुब्बा रीता अधिकारीले जानकारी दिइन् ।

आर्थिक वर्ष२०७०/०७१ मा अस्पतालले निःशुल्क सेवा दिए बापतको २ लाख ५० हजार रुपियाँ  सरकारले दिएको छैन । त्यसपछि निःशुल्क सेवा बन्द भएको रीता अधिकारीले बताइन् ।

अस्पतालको निःशुल्क सेवासमेत बन्द हुँदा दैनिक उपचार सेवा लिन आउने १ सय जना भन्दा बढी बिरामीहरू मारमा परेको अधिकारी बताउँछिन् ।

अस्पतालमा चिकित्सक सेवा, औषधि, शैयाको शुल्क नलाग्ने भए पनि ल्याबमा हुने खर्चको पैसा लाग्ने गरेको छ । ल्याबमा बढी रकम लाग्ने भएकाले लक्षित समुदायका सेवाग्राही समस्यामा छन् ।

स्तरवृद्धि भएपछि अस्पतालमा निःशुल्क औषधि पनि बन्द भएको थियो । बिचमा त्यसलाई निरन्तरता दिन मन्त्रालयले अस्पताललाई २० लाख रुपियाँ दिएको थियो । त्यही रकमबाट अस्पतालले निःशुल्क औषधि व्यवस्थापन गरेको हो ।

निःशुल्क औषधिका लागि फेरि बजेट आउने या नआउने टुङ्गो नभएको अधिकारीको भनाई छ । स्तरवृद्धि भएयता जिल्ला अस्पतालमा ७० प्रकारको निःशुल्क औषधि नियमित हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अन्य

भिडियो