INSEC Online

📅 २०८३ जेष्ठ २१

चन्द्रमायाको पिडाः ८० वर्षको उमेरसम्म पनि छैन नागरिकता

देवघाट गाउँपालिका–५ बसन्तपुरकी ज्येष्ठ नागरिक ८० वर्षीया चन्द्रमाया थापाले अझैसम्म पनि नागरिकताको प्रमाणपत्र पाउनु भएको छैन । उमेरले डाँडो काटिसकेपनि चन्द्रमायाले भने अहिलेसम्म पनि नागरिकता पाउनु भएको छैन ।

व्यवस्था परिवर्तन भएपछि गाउँमा पटक–पटक नागरिकता वितरण गर्ने घुम्ती टोली आयो तर चन्द्रमायाको नागरिकता कसैले पनि बनाइदिएनन् । नागरिकता बनाउन पटक–पटक वडा कार्यालयमा जाँदा सिफारिस नपाएको उहाँले बताउनु भयो । नागरिकता नहुँदा सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ताबाट चन्द्रमाया वञ्चित हुँदै आउनु भएको छ ।

‘अहिलेसम्म कसैले पनि नागरिकता बनाइदिएनन्’ उहाँले भन्नु भयो ‘नागरिकताको लागि सिफारिस लिन जाँदा वडा कार्यालयले पनि सिफारिस दिएन ।’ नागरिकता बनाउन जादा वडा कार्यालयका कर्मचारीले बन्दैन भनेर फर्काएको उहाँले गुनासो गर्नु भयो । त्यसपछि साच्चै नै नागरिकता नबन्ने रहेछ भन्ने ठानेर त्यतीकै बसेको उहाँले बताउनु भयो । उहाँको पतिको मृत्यु भइसके पनि उहाँहरुबाट जन्मेका छोराहरुले भने नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

देवघाटका सामाजिक अगुवा केशवचन्द्र न्यौपानेले बिदेशी नागरिकलाई सजिलै नागरिकता दिन सरकारले कानुन ल्याएपनि आफ्नै देशका ज्येष्ठ नागरिक अझै पनि नागरिकता विहीन बन्नु ज्यादै दुखद भएको बताउनु भयो । यही ठाउँको मान्छे भन्ने सनाखत भएपछि चन्द्रमायालाई जसरी पनि नागरिकता दिनुपर्ने न्यौपानेको भनाई छ ।

‘कति बिडम्बना छ, देशमा लोकतान्त्रिक गणतन्त्र आयो, जनताको घर दैलोमा सिंहदरबारको अधिकार आयो भन्थे तर यी ८० वर्षीया आमा चन्द्रमाया थापालाई भने गणतन्त्र आएको रहेनछ ।’ न्यौपानेले भन्नु भयो ‘८० वर्षको उमेर भै सक्दासम्म उहाँले अहिलेसम्म नागरिकता पाउनु भएको छैन र नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट पनि वञ्चित हुनु भएको छ ।’ यस विषयलाई वडा कार्यालयले विस्तृत रुपमा बुझेर किन नागरिकता नपाउनु भएको रहेछ भन्ने पत्ता लगाएर नागरिकताको लागि सहजिकरण गर्नुपर्ने न्यौपानेले बताउनु भयो ।

देवघाट गाउँपालिका– ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले आफ्नो कार्यकालमा उहाँ नागरिकताको सिफारिस लिन नआउनु भएको भन्दै आफुले पनि यसबारेमा पहिलो पटक सुनेको बताउनु भयो । अब चन्द्रमायाकै घरमा पुगेर के रहेछ भन्ने वास्तविक कुरा बुझेर वडाको सिफारिस सहित चन्द्रमायालाई नागरिकता दिलाउन आफैले लिएर जिल्ला प्रशासन कार्यालय जाने वडा अध्यक्ष कुँवरले बताउनु भयो ।

chandramaya thapa

अन्य

भिडियो