INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई महिनादेखि कामको ज्याला नपाउँदा मजदुर अलपत्र

उच्च अदालत पोखरा बागलुङको भवन निर्माणमा खटिएका १४ जना कामदारले पछिल्लो दुई महिना यता ज्याला नपाउँदा अलपत्र परेका छन् । ठेकेदारले कामको ज्यालामात्र नभएर पछिल्लो समय खाना खर्च समेत नदिएको उनिहरुको गुनासो छ ।

५७ करोड रुपियाँ लागतमा नमूना बन्दै आइरहेको उच्च अदालत बागलुङको भवन निर्माणको पेटी ठेकेदार भवनको भित्री पर्खालको काम गरिरहेका मजदुरको ज्याला र होटलमा खाएको खर्च समेत नतिरि निर्माण व्यवसायी बाबुराम रायमाझी रकम लिएर सम्पर्क विहीन भएको कामदारहरुले बताएका छन् ।

रायमाझी १३ लाख ३० हजारको रकम लिएर कामदारलाई नदिई सम्पर्क विहीन भएको मजदुर कुमार परियारले बताउनु भयो । उहाँको २० हजार रकम लिन बाँकी रहेको छ । मजदुर बिक्रम सुन्दासले आफूले ३५ हजार लिनुपर्नेमा जम्मा एक हजार मात्रै पाएको बताउनुभयो । ठेकेदारले रकम नदिएपछि आफूहरु घर फर्कन समेत नसकेको मजदुरको गुनासो छ ।

निर्माण व्यवसायी फरार भएपछि मजदुरहरुले जिल्ला प्रहरी कार्यालय बागलुङमा ठेकदार बाबुराम रायमाझी विरुद्ध ०८० पुस २६ गते निवेदन दिएका छन् ।

भवन निर्माणको जिम्मा लिएको श्यामसुन्दर÷शिवजी संयुक्त निर्माण कम्पनीले भौतिक प्रगतीलाई तिव्रता दिन पेटी ठेकेदारलाई काममा लगाउदै आएको छ । छोटो समयमा धेरै काम गर्नका लागि मुख्य ठेकेदारले सहायक ठेकेदारलाई काममा लगाउदा सहायक ठेकेदार काम गरेको रकम बुझेर मजदुरलाई नदिई फरार भएको पाइएको छ ।

श्यामसुन्दर÷शिवजी संयुक्त निर्माण कम्पनीका साइड इन्चार्ज ओम गुरुङका अनुसार काम छाडेर एक सातादेखि बाबुराम सम्पर्क विहीन भएपछि कामदारहरु बिचल्लीमा परेका छन् ।  १४ जना मजदुरले प्रहरीमा काम गरेको रकम पाउनु पर्ने भन्दै संयुक्त रुपमा निवेदन दिएका छन् ।

पेटी ठेकेदारका कारण भवन निर्माणको मुख्य जिम्मेवारी लिएको आफ्नोे कम्पनीलाई समेत असर पर्ने देखिएको बताउदै साइड इन्चार्ज गुरुङले तत्कालै कामदारलाई खाना, घर खर्च दिने र सम्पर्क विहीन ठेकेदार खोजी गर्न  सहयोग गर्ने बताउनु भएको छ ।  अहिले उच्च अदालत पोखरा बागलुङ इजलासको मुख्य भवन र सहायक भवनको ५५ प्रतिश काम सम्पन्न भइसकेको छ भने ४२ प्रतिशत रकम भुक्तानी भइसकेको छ ।

भवन ३० महिनामा सक्ने गरी २०७९ मङ्सिर १६ गते सम्झौता भएको थियो । भवन निर्माणका लागि श्यामसुन्दर पशुपती शिवजी निर्माण कम्पनीसंग ५७ करोडमा ठेक्का सम्झौता भएको थियो ।

अन्य

भिडियो