१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठहर गर्दै जिल्ला अदालतले पुस १७ गते मालारानी गाउँपालिका– ७ का २६ वर्षीय ठाकुरप्रसाद भुसाललाई १२ वर्ष नौ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्रीकृष्णजंग शाहको इजलासले कसुरदार ठहर गर्दै बलात्कार वापत १२ वर्ष कैद सजाय, गर्भपतन गराए वापत ६ महिना र अभिभावकत्व उल्लंघन गरे वापत तीन महिना कैद सजाय तोकेको र गर्भपतन गराउन सहयोग गरेको कसुरमा आशिष आचार्यलाई ४५ दिन कैद र १० हजार रूपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ पुस १९ गते प्रलोभन देखाएर बलात्कार गरेको र डर, त्रास देखाएर पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय, खनले फागुन २२ गते आरोपितलाई गिरफ्तार गरेको थियो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७८ चैत १२ गते जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको चैत १३ गते को आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २१ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।