सरकारले ०८० पुस १३ गते इपीएस परिक्षाको विवादलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रीपरिषदको पुस १६ गते बसेको बैठकले घटनाबारे छानबिनका लागि पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वएआइजी अरूण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहने गरी तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

सरकारले गठन गरेको आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन र विश्लेषण गरी घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउन र उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवम् निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्न टीओआर प्रदान गरेको छ । घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय जाँचबुझ समितिको म्याद एक महिना तोकिएको छ ।