१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ६१ वर्षीय परे कामीलाई जिल्ला अदालतले पुस १२ गते १८ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदारलाई १८ वर्ष कैदको अलवा सात लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र २२ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको अदालतका श्रेस्तेदार उपसचिव बद्री लामिछानेले जानकारी दिनुभयो ।
बालिकालाई ०७९ साउन १४ गते बलात्कार गरेको भन्दै घटनाको एक महिनापछि भदौ १२ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते दैलेख अस्पतालमा गरिएको थियो ।
उजुरी परेकै दिन प्रहरीले गिरफ्तार गरीे अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा भदौ २९ गते जबरजस्ती कसुरमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा भदौ ३० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो ।
फैसलामा मुलुकी अपराध सहिंताको दफा २१९ अनुसार कसुरदारलाई कैद, दफा २२८ अनुसार जरिबाना र पीडितलाई क्षतिपूर्ति भराउनेसँगै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा कसुरदारले तिर्नुपर्ने उल्लेख गरिएको छ ।
पीडित बालिकाको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता नृपराज खड्काले बहस गर्नुभएको थियो । सरकारवादी फौजदारी मुद्दामा पीडितको पक्षबाट सरकारी वकिलले बहसको कानुनी व्यवस्था छ ।
