गन्यापधुरा गाउँपालिका क्षेत्रका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले गाउँपालिकाबाट पाउनु पर्ने १४ महिनाको तलब पाउन नसकेको गुनासो गर्नुभएको छ ।
संघीय सरकारले १० हजार र स्थानीय सरकारले ७ हजार गरी प्रारम्भिक बालविकास सहजकर्तालाई न्युनतम १० हजार ७ सय र विद्यालयका कर्मचारीलाई १० हजार ५ सय मासिक तलब दिने सम्झौता भए पनि गाउँपालिकाले उपलब्ध गराउनु पर्ने मासिक तलब रकम १४ महिनादेखि शिक्षक र कर्मचारीले पाउन नसकेका हुन् ।
गाउँपालिकाबाट बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीले मासिक ७ / ७ हजार मासिक तलब बाफतको रकम १४ महिनादेखि नपाएको गन्यापधुरा गाउँपालिका–४ स्थित भुवनेश्वरी माध्यमिक बिद्यालयमा कार्यरत कर्मचारी लोकेन्द्र खत्रीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘तलब नपाउँदा घर खर्च चलाउन समस्या छ । १४ महिना वितिसक्दा समेत गाउँपालिकाबाट तलब पाउन सकेका छैनौँ । के कारणले तबल रोकिएको हो ? जानाकरी समेत पाएका छैनौँ ।’
बजेट निकासा ढिला हुनगएको कारण गाउँपालिका क्षेत्रमा कार्यरत बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीलाई सेवा वाफतको रकम दिन नसकिएको गाउँपालिकाका शिक्षा अधिकृत तस्वीर घटालले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बजेट निकासा गरेर केही दिनमै बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीलाई उपलब्ध गराउन बाँकी रकम पठाउने तयारी भइरहेको छ ।’
गाउँपालिका क्षेत्रमा बालविकास शिक्षक र विद्यालय कर्मचरी गरी ६३ जना कर्मचारीलाई संघीय सरकार र स्थानीय तहले मासिक पारिश्रमिकको व्यवस्था गरेको थियो ।