गाउँपालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालमा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । खार्पुनाथ गाउँपालिका केन्द्रसम्म सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएकाले यातायातका साधन सञ्चालनमा नआएपछि बिरामीलाई बोकेरै अस्पताल लैजानु परेको हो ।
खार्पुनाथ गाउँपालिका–४ को नल्न गाउँका सुर्जन शाहीले डेढ घण्टा बिरामीलाई बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारसम्म लैजानुपर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । उहाँले पत्नी धनकौरा शाहीलाई मङ्सिर २ गते सुत्केरी गराउनका लागि गाउँपालिका केन्द्र स्थित अस्पतालसम्म लैजानका लागिे स्टेचरमा बोकेर लैजानु पर्ने बाध्यता भएको बताउनु भयो।
गाउँपालिका केन्द्र जोडिएर जाने कर्णाली करिडोरको सडक निर्माण भएको चार वर्ष बिते पनि खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पक्की पुल र्निर्माण नभएका कारण स्थानीय नागरिकले सास्ती खेप्नु परेको शाहीले गुनासो गर्नुभयो ।
नजिकको अस्पताल गाउँपालिका केन्द्र रहे पनि यातायातका साधन सञ्चालनमा नआएकाले बिरामीलाई बोक्नुपर्ने बाध्यता भएको अर्का स्थानीय धनराज शाहीले गुनासो गर्नुभयो । बिरामीलाई बोकेर अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता वडा नम्बर ४ का स्थानीयलाई मात्र नभएर पाँच ओटै वडाको समस्या उस्तै रहेको शाहीले बताउनुभयो ।
खार्पुनाथ गाउँपालिका–१ को देउखुरी गाउँका स्थानीय भानुभक्त जैसीले आफ्नो गाउँबाट तीन घण्टा बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो । सडक निर्माण भएको तर गाडी गुड्दैन, त्यही भएर बिरामी बोकेर स्वास्थ्य चौकी वा अस्पतालसम्म लैजानुको विकल्प नभएको गुनासो स्थानीयको छ ।
वडा नम्बर २ को शेराडिलबाट पाँच घण्टाभन्दा बढी समय बिरामी बोकेर अस्पताल ल्याउनु परेको छ । गाउँपालिकाका पाँच मध्ये तीन ओटा वडा सडक सञ्जालसँग जोडिए पनि यातायातका साधन सञ्चालनमा नआएका कारण बिरामी बोकेर ल्याउनुपर्ने अवस्था विद्यमान रहेको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले बताउनु भएको छ ।
