स्वास्थ्य संस्था र विद्यालयले प्रयोग गर्ने खानेपानीको स्रोतको नमुना परीक्षणको क्रममा अधिकांशमा दिसामा पाइने जीवाणु कोलिफर्म देखिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले मङ्सिर २५ गतेबाट ३० गते सम्म गोरखा नगरपालिका क्षेत्रको ५२ ओटा स्वास्थ्य संस्था तथा विद्यालयहरुले प्रयोग गर्ने खानेपानीको स्रोतको नमुना लिई परीक्षण भएको ५२ मध्ये ३७ ओटा खानेपानीमा कोलिफर्म देखिएको हो ।
गोरखा नगरपालिका भित्रका १७ ओटा स्वास्थ्य संस्थाको १९ ओटा खानेपानीको नमुना परीक्षण गर्दा १२ ओटामा कोलिफर्म भेटिएको तथा ३२ ओटा विद्यालयको ३३ ओटा खानेपानीको नमुना परिक्षण गर्दा २५ ओटामा कोलिफर्म देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
अधिकांश खानेपानीमा कोलिफर्म देखिएपछि शुद्धिकरणका तरिकाहरु अपनाई प्रयोग गर्न स्वास्थ्य कार्यालयले सुझाव दिएको छ । पानीको मुहानको वरिपरि दिसा–पिसाव निषेध गर्ने र नियमित सरसफाई गर्ने, मुहान संरक्षण गरी भलपानी पस्नबाट रोक्ने, नजिकका सेफ्टीट्याङ्कीवाट हुने चुहावट नियन्त्रण गर्ने तथा फुटेका पाइपहरुको समयमा नै मर्मत गर्ने कार्यहरु गरेर सावधानी अपनाउन सकिने स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्नीसियन नारायणवावु अर्यालले बताउनुभयो ।
पानी प्रयोग गर्दा उमाल्ने, सोडिस, क्लोरिनेसन, फिल्टर मध्ये एक विधि अपनाएमा समुदायलाई पानी जन्य रोगहरुबाट जोगाउन सकिने र आगामी दिनमा सम्बन्धित नगरपालिका र वडा बाट पानीको मुहान वरिपरि दिसा–पिसाव निषेध गर्ने र नियमति सरसफाई अभियान संचालनका लागि पनि उहाँले सुझाव दिनुभयो ।