INSEC Online

📅 २०८३ जेष्ठ २१

नर्वेजियन राजदुत र सरोकारवालाहरू बिच अन्तरक्रिया

कपिलवस्तु नगरपालिका र मानव अधिकार समूह कपिलवस्तुको संयुक्त अयोजनामा मङ्सिर २८ गते नर्वेजियन राजदुत र सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, वडा अध्यक्षहरु र बिभिन्न सरोकारवालाहरूले नर्वेजियन राजदुतलाइ कपिलवस्तुको नगरपालिकामा स्वागत गर्नु भएको थियो ।

कपिलवस्तु नगरपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूह र सरोकारवालाहरूसँंग छलफल गर्दै नर्वेजियन राजदुत टोरन ड्रामन्डलले नेपालका बिभिन्न स्थानहरूको अवलोकन गर्ने र त्याहाँको मानव अधिकारको अवस्थाको बारेमा बुझ्दै आएको बताउनु भयो ।

राजदुत टोरनले कपिलवस्तु जिल्लाको मानव अधिकारको अवस्थाबारे जानकारी लिन आएको बताउदै  कपिलवस्तुमा बाल बिवाह धेरै हुने गरेको कुरा सुन्दा दुःख लागेको बताउनु भयो । उँहाले नेपालको संविधान महत्वपूर्ण र उपलब्धी मूलक रहेता पनि कार्यान्वयमा भने मजबुद नभएको बताउनु भयो ।

यसैगरी, राजदुत टोरनले आफ्नो देशले मानव अधिकारको सम्मान गर्ने गरेको बताउदै नेपालसँगको ५० वर्ष भन्दा लामो सम्बन्ध रहेको र विकासको साझेदारीका लागि अघि बढेको बताउनु भयो ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले नगरपालिका र मानव अधिकार समूहसँग छलफल गर्नुको मुख्य उद्देश्य भनेको कपिलवस्तु जिल्लाको मानव अधिकारको अवस्था र मानव अधिकार समूहले कार्यहरू कसरी सञ्चालन गरेको छ भन्ने बिषयमा जानकारी लिन र समस्याहरूको बारेमा जान्ने र बुझ्ने रहेको बताउनु भयो ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले हरेक क्षेत्रमा पछाडि परेको कपिलवस्तु जिल्लामा इन्सेक र मानव अधिकार समूहले बिभिन्न कार्यक्रमहरू तथा अभियानहरु सञ्चालन गरेको बताउनु भयो । प्रमुख आचार्यले कपिलवस्तुमा बिगतको तुलनामा मानव अधिकारको अवस्था राम्रो भएको बताउँदै इन्सेकले मानव अधिकारको रक्षाका लागि गरेको उदाहरणीय कार्यको प्रशंसा गर्नु भयो ।

आचार्यले इन्सेक प्रतिनिधि र मानव अधिकार समूहले लैगिंक हिंसाका बिभिन्न घटनाहरूलाई संकलन गर्ने र कानुनी उपचार सम्म पुग्न नसक्ने हिंसामा परेका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा इन्सेकलाई धन्यवाद समेत दिनुभयो ।

इन्सेकले जिल्लाको दुई स्थानीय तहमा मात्र नभइ दश ओटै स्थानीय तहमा अभियान सञ्चालन गरी मानव अधिकारको सङ्रक्षण गर्नु पर्नेमा आचार्यको जोड थियो ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले इन्सेकले मानव अधिकारको संरक्षणका लागि नगरपालिकाका बिभिन्न वडाहरूमा पुगेर समस्याहरू पहिचान गर्ने र नगरपालिका र वडा कार्यालयलाई सचेत गराउनु नै मुख्य उपलब्धि भएको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले कपिलवस्तु नगरपालिका सदरमुकाममा रहेता पनि अधिकांश क्षेत्रहरु ग्रामीण भेग रहेकाले यहाँको शैक्षिक तथा मानवीय सुचकांकमा सुधार गर्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिनु भयो ।

माहुरीहोमका रबिन्द्रनाथ ठाकुरले जिल्लाका अधिकांश स्थानीय तहमा मानव अधिकार समिती नबन्नु दुखको बिषय भएको बताउनुभयो ।

हिंसा पीडित छायाँ बारीले न्याय नपाएर भौतारिएको समयमा इन्सेकले सहयोग गरेपछि कानुनी उपचारमा ठुलो सहयोग पुगेको बताउनु भयो । घरदेखि हिंसा गरी पती , सासु , ससुराले निकाले पछि बारीलाई धेरै समस्या परेको थियो । यस्तै हिंसा पीडित बिनु चौधरीले इन्सेकको सहयोगले आफूलाइृ न्याय सम्म पुग्न सहज भएको बताउनु भयो ।

लैगिंक हिंसा लगायतका बिषयका बारेमा तौलिहवा सरोकारवाला बिच राखेको कार्यक्रममा राजुदत ड्रामन्डल, अतिथी सचिव एन्डेरिया सिलकोसेट, होयान बिक्टोरिया , डरहिम लगायतको टोली सहभागी हुनु भएको थियो ।

इन्सेक साधारण सदस्य रुकैया खातुनको सहजीकरणमा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिकाका सम्पूर्ण वडाका वडाअध्यक्षहरु , इन्सेक केन्द्रिय कार्यालयका सुवेक्षा खड्का , लुम्बिनी प्रदेश संयोजक भोला महत , लुम्बिनी बिकास कोषका राजेश ज्ञवाली , मानव अधिकार समूहका पदाधिकारीहरु , नेपाल पत्रकार महासंघ , विद्यालयका प्रधानाध्यापक, बाल अधिकार चेतना समूह , फातिमा फाउण्डेसनका पदाधिकारी, किशोरी अधिकार मञ्च लगायतको सहभागिता रहेको थियो ।

 

अन्य

भिडियो