गुल्मीको जिल्ला अस्पताल तम्घासलाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तीन वर्षभयो । तर, त्यो अहिलेसम्म घोषणामै सीमित रहेको छ । जसका कारण अरुको उपचार गर्ने जिल्ला अस्पताल आफै थला परिरहेको छ ।
बिरामीको चाप बढ्दै आउने तर डाक्टरहरूको दरबन्दी नबढ्दा अस्पताल र सेवाग्राही समस्यामा परेको अस्पताल विकास समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेयले बताए । ‘दरबन्दी र भौतिक पुर्वाधार सुविधा १५ शैयाकै भयो । तर, सरकारले ५० शैया भन्दियो ।’-उनले भने-‘अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट ३० शैयाको बनाएको छ ।’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरूको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन ।
विशेषज्ञ डाक्टरको दरबन्दी पनि खाली छ । सरकारले जम्मा चार जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन पठाएको चौधरीले बताए । लामो सयमदेखि निक साइमन इन्स्टिच्युट काठमाडौँले पठाएका एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगरले सेवा दिइरहेका थिए । तर, उनको पनि सरुवा भएको छ । तीन वर्षअघि ५० शैयाको अस्पताल घोषणा भए पनि औषधि उपचारका लागि सरकारले रकम, भौतिक पुर्वधार र जनशक्ति केहीको पनि व्यवस्था नगरेको मेडिकल सुपरिटेण्डेण्ट चौधरीले बताए ।
जिल्ला अस्पतालमा छिमेकी जिल्ला बागलुङ, अर्घाखाँची र प्युठानकासमेत बिरामी उपचारका लागि आउँछन् । जसका कारण अस्पतालमा सेवाग्राहीको चाप निकै हुने गर्दछ । दैनिक २ सय जनासम्म बिरामीको स्वास्थ्य चेकजाँच हुने अस्पतालको अभिलेख छ ।
गाउँबाट सामान्य चेकजाँच गर्न जिल्ला अस्पताल तम्घास आएपनि एक रात होटलमै बस्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । ‘१० बजे आएपछि दुई घण्टा लाइनमा कुर्नुपर्छ, चेक गर्दागर्दै दुई बज्छ ।’-इस्मा गाउँपालिका-३ का केयरसिंह खडकाले भने-‘जिल्ला अस्पताल नामको मात्रै भयो ।’ गुल्मीको जिल्ला अस्पताल तम्घासलाई १५ शैयाबाट सरकारले ५० शैयामा स्तरबृद्धि गरेको थियो ।