INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव

समयमा खाद्यान्न ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव भएको छ । ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगरेपछि हुम्लामा खाद्यान्नको समस्या भएको हो । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा खाद्यान्न अभाव भएपछि डेढ महिनादेखि सर्वसाधारण नागरिक खाद्यान्न पाउनबाट बञ्चित भएका छन् ।

चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा जिल्लाबासीलाई खाद्यान्नको समस्या भएको हो । सिमकोट गाउँपालिका–८ की स्थानीय जानकी बुढाले गत असोजदेखि लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न वितरण नगरिदा आफुहरू खाद्यान्न पाउनबाट बञ्चित भएको बताउनुभयो ।

उहाँले लिमिटेडको शाखामा जाँदा गोदाममा खाद्यान्न मौज्दात नभएका कारण बिक्री गर्न नसकिने जवाफ आउने गरेको बताउनु भएको छ । उहाँका अनुसार सिमकोट गाउँपालिका १ देखि ८ वडासम्मका स्थानीय नागरिकले प्रत्येक महिनाको एक पटक प्रतिव्यक्ति ७ किलोका दरले खाद्यान्न बिक्री वितरण हुने गरेको थियो । तर यो पटक गत असोजदेखि खाद्यान्न बिक्री वितरण नगरिदा खाद्यान्न पाउनबाट बञ्चित हुनु परेको उहाँले गुनासो गर्नु भएको छ ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौ महिनाबाट ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्स छनोट चरणमा रहेकाले गोदाम खाली हुने अवस्था आएको बताउनुभयो । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो ।

प्रमुख अधिकारीका अनुसार हाल गोदाममा १ सय २० क्विन्टल मात्र खाद्यान्न मौज्दाता रहेको छ । जिल्लामा एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा २ हजार ५ सय क्विन्टल आवश्यक पर्ने गरेका कारण बिक्री वितरण गर्न नसकिएको प्रमुख अधिकारीको भनाइ छ ।

शाखा प्रमुख अधिकारीले कार्यालयमा खाद्यान्नका लागि आउने सर्वसाधारणलाई रित्तो हात फिर्ता पठाउनुको अन्य विकल्प कार्यालयसँग नरहेको बताउनुभयो । उहाँले अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको बताउनुभयो ।

यस वर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट ६ हजार र नेपालगन्जबाट ४ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रिक एयरले नेपालगन्जबाट प्रतिकेजी १ सय ४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १ सय ३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ ।

यस वर्षको कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसकेका कारण लिमिटेडको गोदाम खाली भएकै काराण कोटा अनुसारको खाद्यान्न वितरण हुन नसकेको प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले जानकारी दिनुभयो । आफूले खाद्य संस्थान केन्द्रीय कार्यालयलाई यसबारे समयमै जानकारी गराइसकेको भन्दै अव तत्काल खाद्य व्यवस्था समितिको बैठक राखेर लिखित रूपमा जानकारी गराइने बताउनुभयो । उहाँले ढुवानीमा ढिलाइ गरेकाले जिल्लामा खाद्यान्न वितरणमा समस्या आएको स्वीकार गर्नुभयो ।

अन्य

भिडियो