जन्मजात नै अपाङ्गता भएका दशरथचन्द नपा-८ त्रिपुरा र्यासीका ५८ वर्षीय हरिराम दमाईं र उनकी ५६ वर्षीया पत्नी भानादेवी दमाईं दम्पतीले सहयोगको याचना गरेको छ ।

पतिपत्नी दुवै जना जन्मजात नै अपाङ्गता भएका कारण उनीहरूको जीवन कष्टकर रूपमा चलिरहेको र्यासीका स्थानीयहरू बताउँछन् ।
‘विवाह भएको केही वर्षपछि एउटा छोरा जन्मिएको थियो । तर, जन्मिएको १३ दिनमै उसको मृत्यु भएपछि यो दम्पतीलाई कहिल्यै पनि सुखले साथ दिएन ।’-स्थानीय सुशील क्षेत्रीले भने ।
उनले भने-‘छिमेकीसँग मागेर दैनिकी गुजारा गरिरहेका हरिराम दम्पतीले त्रिपुरा सुन्दरी मन्दिरमा पनि निकै वर्षसम्म दमाहा बजाएर सेवा गरे ।’

बोल्न नसक्ने, हातको इसाराले छिमेकीसँग मागेर दैनिक गुजारा गरिरहेका हरिराम दम्पती घर नहुँदा रातिराति सुत्नलाई नजिकै रहेको त्रिपुरासुन्दरी मन्दिर जाने गरेका छन् । मन्दिरमै दमाहा बजाउने र आउने भक्तजनबाट मागेर दैनिक छाक टार्ने गरेको क्षेत्रीले बताए ।
हरिराम दम्पतीलाई बूढेसकालको सहारा छोराछोरी नहुँदाको पीडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कोतिर पिरोलिरहेको छ ।
सानो घर भएपनि त्यो भत्किएको र जीर्ण अवस्थामा रहेकाले वर्षात्को समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीयले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन् ।
कुनै पनि निकायले हरिरामको पीडा नदेखेपछि स्थानीय युवा हिक्मत चन्दको नेतृत्वमा सहयोग सङ्कलन टोली बनाएर हालसम्म झण्डै १५ हजार रुपियाँभन्दा बढी सङ्कलन गरिसकिएको जनाइएको छ । भदौ १ गतेदेखि हरिरामका लागि पक्की घर बनाउने गरी सहयोग सङ्कलन गरिरहेको आर्थिक सङ्कलनमा जुटेका चन्दले बताए ।