बुटवल उपमहानपा–१४ वेलभोरिया की ४१ वर्षीया सुखसरी विकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति ३९ वर्षीय राजु टमाटा विकलाई मङ्सिर १७ गते घरबाट गिरफ्तार गरेको छ ।
पत्नीलाई आरोपितले मङ्सिर १० गते राती मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा घटनास्थलमा ढल्नु भएको थियो । घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मङ्सिर ११ गते पुर्याएका थिए । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटनाका विषयमा सुरूमा कालगतिले मरेको भने पनि इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गर्दै जाँदा घटना शङ्काष्पद भएको भन्दै अनुसन्धान गरिरहेको थियो ।
पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
शवको पोष्टमार्टम मङ्सिर ११ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरी सोही दिन छोरीलाई शव बुझाइएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालका फरेन्सीक डाक्टर बिप्लब महर्जनले मृतकको शरीर भरी एक सय भन्दा बढी निलाडाम भएको र कुटपिटको कारणले मृत्यु भएको बताउनु भयो ।