राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय टोलीले जिल्लाको मानव अधिकार, सुशासन, दिगो विकास र वातावरणको अवस्थाका विषयमा साउन २४ गते सम्बन्धित सरोकारवाला निकायबिच छलफल गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेल र आयोगका अधिकृत टङ्क खनालले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा साउन २४ गते प्रहरी, प्रशासन र स्थानीय तहका निर्वाचित पदाधिकारीसँग छलफल गरेका हुन ।
आयोगले साउन २३ गते जिल्ला स्थित अधिकारकर्मी र सञ्चारकर्मीसँग जिल्लाको मानव अधिकारको अवस्थाका विषयमा छलफल गरेको आयोगका क्षेत्रीय प्रमुख खरेलले जानकारी दिए ।
अहिले मानव अधिकार हनन्को सबैभन्दा ठुलो विषय बालविवाह रहेको आयोगका क्षेत्रीय प्रमुख खरेलले बताए । बालविवाह गर्नेको सङ्ख्या विकराल रूपले बढिरहेकोमा चिन्ता व्यक्त गरे ।
विभिन्न जिल्लामा मानव अधिकार अनुगमनका क्रममा बालविवाह गर्नेको सङ्ख्या व्यापक रूपमा बढेको भन्दै उनले स्थानीय स्तरबाट न्यूनीकरण गर्न पहल गर्नु पर्ने सुझाव दिए । साथै बालविवाह न्यूनीकरणमा गम्भीर भएर लाग्न सम्बन्धित पक्षलाई खरेलले आग्रह गरे ।
मानव अधिकार आयोगको टोलीसँगको छलफलका क्रममा स्थानीय मानव अधिकारकर्मी तथा सञ्चारकर्मीले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा विश्लेषण गरेका थिए । जिल्लामा अहिले बालविवाहका साथै महिला हिंसा अर्न्तर्गत घरेलु हिंसा बढिरहेको, बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको, उपभोक्ताको अधिकार सुनिश्चित हुन नसकेको, स्वास्थ्य सेवा र्सवसुलभ रूपले पाउन नसकेको, गुणस्तरीय शिक्षा सरकारले उपलब्ध नगराएकोलगायतका समस्या रहेको बताए ।
यस्तै आयोगको टोलीले साउन २४ गते स्थानीय जनप्रतिनिधिसँग स्थानीय तहको अधिकार, बुझाई र कार्यान्वयनका विषयमा छलफल गरेको जनाएको छ ।