सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका वडा गरेर १८ जना बालबालिकालाई कुपोषण देखिएको छ । गाउँपालिकाले कात्तिक ४ गतेदेखि मङ्सिर १५ गतेसम्म कुपोषण मुक्त पालिका बनाउन सुरु गरिएको अभियानमा कुपोषण देखा परेको गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार गाउँपालिका स्वास्थ्य शाखाले कुपोषण पहिचान घर कार्यक्रम सुरु गर्ने क्रममा सिमकोट गाउँपालिका–३ मा तीन, ६ मा चार, ७ मा चार र ८ मा तीन गरी १४ जनामा मध्यम शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् । त्यस्तै सोही गाउँपालिका– ५ मा एक, ६ मा दुई र ७ मा एक गरी जम्मा चार जनामा कडा शिघ्र कुपोषण भेटिएको संयोजक भण्डारीको भनाइ छ ।
कुपोषित बालबालिकाको पहिचानका लागि गाउँपालिकाले १ देखि ८ नम्बर वडासम्म दुई किसिमका घरमा झण्डा राख्ने अभियानको थालनी गरेको छ । ६ महिना देखि २३ महिनासम्मका बालबालिकामा कुपोषण पहिचान गरी मध्यम शिघ्र कुपोषणको घरमा पहेलो र कडा शिघ्र कुपोषण भएका बालबालिकाको घरमा दुई किसिमका झण्डा राख्ने कार्य सुरु भएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार कुपोषित पहिचानका लागि स्वास्थ्य शाखाले गाउँपालिका भरिका १४ जना मध्यम शिघ्र कुपोषण भएका बालबालिकाको घरमा पंहेलो झण्डा र कडा शिघ्र कुपोषण भएका चारजना बालबालिकाको घरमा रातो झण्डा राखिएको छ ।
स्वास्थ्य चौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनको लागि अभियान सञ्चालन गरेको छ । बालबालिकामा यस्तो कुपोषण भेटिएपछि स्वास्थ्य शाखाले हाल तौल वृद्धि अनुगमन गरी पोषाकतत्व सर्वोत्तम पिठो वितरण गर्ने कार्य गरेको छ ।
कुपोषित बालबालिकाको लागि पोषण प्याकेज कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।