INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पमा परी ज्यान गुमाएका सबै परिवारलाई नगद राहत वितरण

आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा भूकम्पमा ज्यान गुमाएका ५४ जना मृतकका परिवारलाई नगद राहत रकम वितरण गरिएकाे छ । भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका सबै मृतकका परिवारलाई नगद राहत रकम वितरण गरिएको हो ।

यस अघि ४७ जना परिवारले नगद राहत रकम प्राप्त गरे पनि कागजात मिलाउन बाँकी रहेका ७ जना मृतकका परिवारले नगद राहत रकम पाएका थिएनन  । कागजात मिलाउने प्रक्रिया पुरा भएपछि मङसिर ११ गते मृतकका सबै परिवारले नगद राहत प्राप्त गरेका हुन् ।

सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३७ मृतकका २४ घरपरिवारलाई ६१ लाख, चौरजहारी नगरपालिकाका एक जना मृतकका परिवारलाई दुई लाख, रोल्पा र बर्दियाका एक एक जना मृतक परिवारलाई ४ लाख गरी जम्मा ८३ लाख नगद राहत रकम बाँडिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो । सरकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई  एक लाखका दरले नगद राहत रकम दिएको र एकै घरबाट एक जना भन्दा बढी मृत्यु भएकाको हकमा एक जनाको दुई लाख र बाँकीको प्रति मृतक एक लाख थपेर राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा पाँच करोड रकम पठाएको थियो । जसमा ८३ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रहेको रकम भूकम्प प्रभावितका लागि अस्थायी आवास तथा पुनर्स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

भूकम्पमा परी  ज्यान गुमाउनेमा  ५३ जनाको जिल्ला भित्रैकै थिए भने बाँकी  पाँच जना जिल्ला बाहिरका रहेका थिए ।

Photo20231127RukumPaschim (2)

Photo20231127RukumPaschim (1)

अन्य

भिडियो