INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा खानेपानीको अभाव : विद्यार्थी र शिक्षक समस्यामा

दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–६ मासिधारा स्थित लामालेख आधारभूत विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभावका कारण शिक्षक र विद्यार्थीहरू खानेपानीबाट बञ्चित भएका हुन् ।

विगत ०६५ सालमा स्थापना भएको सो विद्यालयका लागि कोही कसैले पनि खानेपानीको चासो नदेखाएको सोही विद्यालयका प्रधानाध्यापक राधिका शाहीले गुनासो गर्नुभयो । विद्याल परिवारका लागि खानेपानी नभएपछि हाल एक घण्टाको समय लगाएर मुहानमा जानुपर्ने बाध्यता भएको प्रधानाध्यापक शाहीको भनाइ छ ।

विद्यालयमा खानेपानी नभएपछि विद्यार्थीहरु मुहानमा आउने र जाने गर्दा पठनपाठनमा समस्या हुने गरेको विद्यार्थीका अभिभावक तेजबहादुर बुढाले गुनासो गर्नुभयो ।

बालविकासदेखि कक्षा ३ सम्म अध्ययन तथा अध्यापन हुने सो विद्यालयको समस्या समाधानको लागि यस अघि विभिन्न सरोकारवाला निकायलाई लागि अनुरोध गर्दा पनि कसैले चासो नराखेको सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप शाहीले बताउनुभयो । उहाँका अनुसार खानेपानीको लागि स्थानीय तह चंखेली गाउँपालिकालाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको हो ।

खानेपानी अभावका कारण सो विद्यालयमा अध्यायनरत ७० जना बालबालिका र चार जना शिक्षकहरू खानेपानीको समस्या भइरहेको विद्यालय प्रधानाध्यापक शाहीले गुनासो गर्नुभयो । पानीको अभावका विद्यार्थी र शिक्षक शिक्षिकाहरूलाई शौचलयमा समेत कठिनाइ रहेको छ ।

उक्त विषयमा चंखेली गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीलाई बुझ्दा बृहत खानेपानी योजना निर्माणको तयारीमा रहेकोले उक्त खानेपानीबाट सो समस्या समाधान हुने उहाँले बताउनुभयो ।

अन्य

भिडियो