पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई जना बिरामीको ०८० कात्तिक १८ गते मृत्युपछि मृतकका आफन्तले वार्डमा कार्यरत चिकित्सकमाथि हातपात गरेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ ।
घटनाबारे इन्सेकसँग कुराकानी गर्दै अस्पतालका मेडिसिन विभागका प्रमुख तथा प्रवक्ता डा. युवराज शर्माले कात्तिक १८ गते सुइको माध्यमबाट औषधि दिएको पाँच मिनेटको अन्तरमा ओखलढुङ्गाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएपछि आफन्तले गलत औषधि दिएका कारण बिरामीको मृत्यु भएको भन्दै वार्डमा कार्यरत दुई जना डाक्टरमाथि हातपात गरेको बताउनु भयो । डा. शर्माका अनुसार कात्तिक १० गते भर्ना भएका नगरकोटी र कत्तिक १६ गते भर्ना भएका राई अस्पतालको ज्येष्ठ नागरिक वार्डमा भर्ना भएको र दुवै जनालाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) चलाइएको थियो ।
डा. शर्माका अनुसार बिरामीद्वयलाई चलाइएको औषधि नियमित रूपमा चलाउने औषधि रहेको र दुवै जनाको केही मिनेटको अन्तरालमा मृत्यु हुनु संयोग मात्र हो । घटनाबारे बिरामीका आफन्तलाई जानकारी गराउने क्रममा गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै आवासीय चिकित्सकमाथि हातपात र दुर्व्यवहार गरेको डा. शर्माले उल्लेख गर्नुभयो ।
अस्पतलमा भएको घटनाबारे अस्पताल प्रसाशनले कात्तिक १८ गते जिल्ला प्रहरी परिसरमा उजुरी समेत दिएको थियो । उजुरीबारे इन्सेकसँग कुरा गर्दै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले अस्पतालका तर्फबाट आएको उजुरी उपर प्रहरीले छानबिन गरिरहेको बताउनु भयो । कार्कीका अनुसार अस्पताल प्रसाशनसँग र मृतकद्वयका आफन्तसँगको छलफलपछि मृतकद्वयमाथि प्रयोग गरिएको औषधिको ल्याब परीक्षण गर्ने र मृत्युको कारण पत्ता लगाउनका लागि मृतकद्वयको शवको पोष्टमार्टम गर्ने सहमति भएको छ ।
यस्तै पाटन अस्पतालमा भएको घटनाबारे नेपाल चिकित्सक सङ्घले कात्तिक २० गते विज्ञप्ति जारी गर्दै डाक्टर कुटपिट घटनामा संलग्नलाई गिरफ्तार गरेर कारबाही गर्न माग गरेको छ । सङ्घका महासचिव डा. संजिव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिइ अमानवीय क्रियाकलाप गरिएको प्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न जोडदार रूपमा माग गर्दछौँ ।’