जाजरकोटको रामीकाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको बेला कात्तिक १७ गते राति भागदौडको क्रममा दैलेख तीन जना व्यक्ति घाइते भएका र मानवीय क्षति केही नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र मगराठीले जानकारी दिनुभयाे।
स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक नमराज सुबेदी फिल्ड गएको बेला नौमूले गाउँपालिका–४ कालिकास्थित स्वास्थ्यकर्मीको घरमा सुतेको बेला भूकम्पले घर हल्लिएको बेला सिंडीबाट झर्न लाग्दा देब्रे हात भाँचिएको छ ।
त्यसैगरी महाबु गाउँपालिका–५ काँशीकाँधका २८ वर्षीय मानबहादुर शाही भूकम्प गएको बेला माथिल्ला तलाबाट झर्न खोज्दै गर्दा बार्दलीबाट खसेर मुखकै भर खसेपछि दुई ओटा दाँत गएका, दुई ओटै खुट्टा नचलेका बताइएको छ ।
दुबै जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेख जिल्ला अस्पतालका डा.विपिन सिजापतिले जानकारी दिनुभयो । नारायण नगरपालिका–३ का ३३ वर्षीय प्रजापति धमला भागदौडको बेला घाइते भएका तर उहाँको घरमै उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मगराठीले बताउनुभयो ।
