कर्णाली प्रदेश सरकारको कात्तिक १८ गते बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले रुकुमपश्चिम र जाजरकोटमा भूकम्पबाट बढी जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने, प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
प्रदेश अस्पतालमा आर्मीको मेडिकल क्याम्प
नेपाली सेनाको वीरेन्द्रनगर कपासे स्थित कालिबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।
जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भुकम्पमा परी घाइते भएकाहरुको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालिबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । उहाँका अनुसार अस्पतालमा आउने घाइतेहरुको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको हो ।
घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा।डा। डम्बरबहादुर खड्काले बताए । उहाँका अनुसार प्रदेश अस्पताल हाल २९९ शैयाको छ । अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।
प्रदेश अस्पतालमा १२ जनाको उपचार हुँदै
जाजरकोट र रुकुमपश्चिमका १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट घरमा क्षति भइ घाइते भएका रुकुमपश्चिमका ६ जना र ६ जाजरकोटका जनाको उपचार भइरहेको छ ।
रुकुमपश्चिमका तीन वर्षीय एक बालकसहित सात महिला र पाँच पुरुषको उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । एक जना महिला र एक जना बालककलाई बढी चोट लागेको भएपनि अन्यको अवस्था त्यति खतरा नभएको निर्देशक खड्काले बताए ।




