कमलबजार नगरपालिका क्षेत्रका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले बिगत तीन महिनादेखि तलब सुविधा पाउनबाट वञ्चिर रहेको गुनासो गर्नुभएको छ ।
कमलबजार नगरपालिकाका प्रमुख र उपप्रमुख बीचको बिबादका कारण ०८० साउनदेखि असोजसम्मको तलब सुविधा पाउन नसकेको कर्मचारीहरुको गुनासो छ ।
नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा विष्टले बीचको बिबादका कारण आर्थिक वर्ष २०८० / ०८१ को बजेट तथा कार्यक्रम समेत सार्वजनिक हुन नसक्दा आफूहरुले तलब पाउन सकेको कर्मचारीहरुको गुनासो छ ।
नगरपालिका भित्रको बिबादका कारण दशैमा समेत तलब तथा सेवा सुविधा नपाएको स्वास्थ्यकर्मी टेकबहादुर विष्टले गुनासो गर्नु भयो । नगरपालिका भित्रको बिबादका कारण तीन महिनादेखिको तलब भत्ता नपाएर कर्मचारीले रित्तो हात घर जान वाध्य हुनु परेको उहाँको भनाइ छ । नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट पनि नागरिकहरु वञ्चित भएको विष्टले बताउनु भयो ।
कमलबजार नगरपालिका क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरुले समेत तलब भत्ता पाउन नसकेको गुनासो छ । तिहारमा पनि शिक्षकहरुले तलब भत्ता नपाएको खण्डमा आन्दोलन गर्ने चेतावनी दिदै शिक्षक महासंघ, कमलबजारको टेलीले नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा विष्टलाई ०८० कात्तिक १० गते ज्ञापन–पत्र बुझाएका छन् ।
गत असार महिनामा नै सम्पन्न हुनु पर्ने नगरसभा सम्पन्न नभएपछि नगरपालिका भित्र कार्यरत शिक्षक तथा कर्मचारीहरूले तलब भत्ता पाउन नसक्दा यो वर्षको दशै मनाउन नै समस्या भएको शिक्षक महासंघ, कमलबजारका सचिव छत्र विष्टले बताउनु भयो ।
नगरपालिकाका प्रमुख र उपप्रमुख बीचको मनमुटावले सर्वसाधारण जनताले दुःख पाएको भन्दै नेकपा माले, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लब नेत्तुत्वको नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टीले असोज १९ गतेदेखि नगरपालिकाको कार्यालयमा ताला समेत लगाएका थिए ।
कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राख्नु पर्ने उपप्रमुख शारदा विष्ट कुँवरको अडानका कारण समयमा वजेट ल्याउन नसक्दा कर्मचारीले तलव पाउन नसकेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताउनु भयो ।
उपप्रमुख शारदा विष्ट कुँवरले कार्यपालिकाको बैठकले गरेका निर्णयहरु कार्यान्वयन नगर्दा अहिलेको समस्या सृजना भएको बताउनु भयो ।