बाँसगढी नगरपालिकामा रहेको सिकलसेल एनिमिया तथा थालेसिमिया रोग जाँच गर्ने मेसिन बिग्रिएको तीन वर्ष भन्दा बढी बित्दा समेत मर्मत नहुँदा स्थानीयले समस्या भोग्नु परेको छ ।
बाँसगढी नगरपालिकाले स्थानीयलाई निःशुल्क सिकलसेल तथा विटा थालेसेमिया रोगको जाँच गर्नका लागि ०७६ मङ्सिरमा १८ लाख रूयिाँमा मेसिन खरिद गरेर ल्याएको थियो । खरिद गरेको ल्याएको केही समयमा बिग्रिएको मेसिन अझै मर्मत हुन सकेको छैन ।
मेसिन भएर पनि सञ्चाालनमा आउन नसक्दा स्थानीयहरू महँगो शुल्क तिरेर रोगको जाँच गर्न अन्यत्र जान बाध्य छन् । बाँसगढी नगरपालिका–२ बेतनीका २६ वर्षीय राज थारूले सिकलसेल तथा थालेसेमिया जाँच गर्ने मेसिन बिग्रिएको तीन वर्षभन्दा बढी हुदाँ पनि बन्न नसकेको बताउनु भयो ।
‘बाँसगढी नगर अस्पतालमा मेसिन बिग्रिएको छ । त्यहीँ भएर मैले घरमा अन्य सदस्यलाई नेपालगञ्ज लगेर सिकलसेल जाँच गरेर ल्याएको छु ।’ थारुले भन्नु भयो ।
जनप्रतिनिधि, स्थानीय तह, स्वास्थ्य शाखा प्रमुखलाई यस बारेमा जानकारी भएपनि मेसिन मर्मतको लागि खासै ध्यान नदिएको थारूको गुनासो रहेको छ ।
यसैगरी, बाँसगढी नगरपालिका सिताराम थारूले पनि बिग्रिएको मेसिन मर्मत गरी बाँसगढीमा सिकलसेल जाँच गर्नु पर्ने बताउनु हुन्छ । एउटा परिवारमा पनि कसैलाई सिकलसेल तथा थालेसेमिया छ, कसैलाई छैन् । त्यही भएर प्रत्येकको जाँच गरेर कार्ड उपलब्ध हुनुपर्छ ।’ थारूको भनाइँ रहेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाले आर्थिक वर्ष २०७९/०८०मा सिकलसेल तथा थालसेमियाको स्क्रिनिङ्ग तथा प्रेषण कार्यक्रम अन्र्तगत बाँसगढी नगरपालिका– ८ लक्ष्मणा रहेको पूर्णहिरा माविका चार सय जना विद्यार्थीको रगत संकलन गरी परीक्षण गर्दा ५८ जना ( १४.५०) प्रतिशतमा सिकलसेल तथा विटा थालसेमिया देखिएको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा २ सय २५ जनाको रगत परीक्षण गर्दा ४२ जना ( १९ प्रतिशतमा सिकलसेल तथा थालेसेमिया देखिएको ल्याब टेक्निसियन निरीक्षक जीवन रजौरेले जानकारी दिनुभयो । सिकलसेल एनिमिया र थालेसेमिया अन्य जातिका मानिसमा भन्दा थारूमा बढी रहेको रजौरेले बताउनु भयो । बाँसगढी नरपालिका जनसंख्या ६३ हजार दुई सय ५२ रहेको छ । जसमध्ये आधा जनसंख्या थारु समुदायको छ ।
सामान्यता रातो रक्तकोषहरुको आयु १ सय २० दिन र सिकलसेल १५ देखि २० दिनसम्म रक्तसञ्चारमा रहेर नष्ट हुने गर्दछन् । सिकलसेल छिटो छिटो नष्ट हुदाँ शरिरमा रगतको कमी हुन्छ, जसलाई सिकलसेल एनिमिया भनिन्छ ।
शरिरमा रक्तकोषको राम्रोसँग विकास हुन नसक्दा देखा पर्ने रोग थालेसेमिया हो । जसले हेमोग्लोबिन उत्पादनमा समस्या ल्याउँछ । शरीरमा रगत नबन्ने भएकोले यसको उपचारकोलागि रगत दिएर उपचार गरिन्छ ।
बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले मेसिन मर्मत गर्नका लागि बुटवल पठाइएको जानकारी दिनुभयो । उहाँले मेसिन मर्मत भएर आउने बितिकै सिकलसेल र थालेसेमियाको जाँच हुने बताउनु भयो ।
नेपालको संविधानले मौलिक हक अन्तरगत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यसैगरी जनस्वास्थ्य ऐन २०७५ मा “ प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभरुपमा प्राप्त हुने अधिकार हुनेछ । भनिएको छ । सोही ऐनको दफा ३ मा “ कुनै नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् भनिएको छ ।
तर बाँसगढी नगरपालिका वंशाणुगतरुपमा सर्ने सिकलसेल र थालेसेमियाको जाँच गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।