आफ्नै छोराबाट निरन्तर कुटपिट तथा घरेलु हिंसामा पर्दै आउनु भएकी भानु नगरपालिका–१ नयाँबस्ती गन्धर्व टोलकी ७३ वर्षीया ज्येष्ठ नागरिक महिलालाई न्यायीक प्रकृयामा जान इन्सेकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
घरेलु हिंसा पीडित गिरीलाई इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई मार्फत मानव अधिकार सहायता कक्ष अन्तरगत ०८० कार्तिक १ गते सहयोग स्वरुप नगद पाँच हजार रुपियाँ उपलब्ध गराइएको हो ।
सहयोग पाएपछि पीडित गिरीले आफुलाई इन्सेकको सहयोगले ठूलो राहत दिएको बताउनु भयो ।
उहाँ बस्दै आउनु भएको कच्ची घर गत असोज १२ गते अपरिचित समूहले भत्काई दिएपछि उहाँ छिमेकीको घरमा बस्दै आउनु भएको छ । उहाँलाई मानवअधिकार समूह भानुकी सदस्य तुलसी गैह्रेले आश्रय दिनु भएको छ ।
पीडितले गत असोज १९ गते सहयोग उपलब्ध गराउन इन्सेकलाई लिखित निवेदन दिनु भएको थियो ।
