INSEC Online

📅 २०८३ जेष्ठ २२

सडक नहुँदा बोकेरै स्वास्थ्य संस्था पुर्‍याउनु पर्ने बाध्यता

राष्ट्रिय सडक सञ्जामा नजोडिएको हुम्लाका विभिन्न गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था पुर्याउनु पर्ने अवस्था बाध्यता रहेको छ ।

जिल्ला भित्रका गाउँहरू कर्णाली कोरिडोरसँग लिङ्क रोड नजोडिएका कारण बिरामीलाई बोक्नु पर्ने अवस्था विद्यमान रहेको छ ।

खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी हुँदा दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको गुनासो गर्नुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै गरी, चंखेली गाउँपालिका–५ को नेक्पा गाउँका भईबहादुर तामाङले रुखबाट लडेर घाइते भएका बिरामीलाई चार जना युवाले मिलेर आठ घण्टा बोकेर हिँड्दै गाउँपालिका केन्द्र पिप्लाङमा रहेको स्वास्थ्य चौकीमा लैजानु परेको बताउनुभयो । सो गाउँका लागि जोड्न सडक निर्माण कार्य भइरहेको  भए पनि सडक निर्माण कार्य पूरा नहुँदा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले बिरामीलाई उपचार गर्नका लागि कि त धामी झाँक्रीकोमा लैजानु पर्ने कि त जडीबुटीको औषधिमा गर्नु पर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ । यी दुईवटा उपायाहरु नगरे नागरिकले आफै बोकेर स्वास्थ्य संस्थामा लैजानै पर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

गत वैशाखदेखि चंखेली गाउँपालिकाको नेप्का गाउँबाट सात जना बिरामी बोकेर गाउँपालिका केन्द्रसम्म लगेको तामाङले गुनासो गर्नुभयो । त्यसै गरी ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका जगवीर बुढाले आमा बिरामी हुँदा एक दिन पैदल बोकेर गाउँपालिका केन्द्र छप्रेलामा रहेको मैला स्वास्थ्य चौकीमा उपचार गर्न लगेको बताउनुभयो ।

मासपुर गाउँका लागि हालसम्म सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । जिल्लाका सात वटा गाउँपालिकाका एक सयभन्दा बढी गाउँमा मानिस बिरामी पर्दा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता छ । राष्ट्रिय सडक सन्जाललमा अहिले सम्म नजोडिएको हुम्लामा बिरामी हुँदा अहिले पनि नागरिकले कहिले स्टेचर त कहिले आफै बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।

Photo20231016Humla

अन्य

भिडियो