क्व्होलासोथार गाउँपालिका– ९ गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको हत्याको आरोपमा मृतकका छोरा २८ वर्षीय सुजन विकलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ ।
असोज १० गते साँझ आफ्नै छोरा सुजन विकको चक्कु प्रहारबाट गम्भीर घाइते भएका विकलाई उपचारको लागि पोखरा लगिएको र उपचारको क्रममा असोज २० गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार दारी काट्ने मेशिन माग्दा नदिएपछि सुजनले आफ्नै बुवाको पाखुरामा हिर्काएको र त्यसपछि बुवाले गाली गरेपछि छोराले चक्कु ल्याएर प्रहार गर्दा बुवा गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवालाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।
शवको पोष्टमार्टम स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा असोज २० गते गरिएको छ ।