INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन दिनदेखि हवाई टिकट नपाउँदा बालकको मृत्यु भएको पीडित परिवारको आरोप

तीन दिनदेखि हवाई जहाजको टिकट नपाउँदा सिमकोट गाउँपालिका–६ स्थित साहुबाडाका १४ महिनाका शिशु पृन्स सुनारको असोज १९ गते मृत्यु भएको छ ।

मुटुमा दुई ओटा प्वाल भएको बिरामी शिशुलाई जिल्ला अस्पताल हुम्लाले असोज १७ गते रेफर गरेको भए पनि हवाई कम्पनीका कर्मचारीले हवाई टिकट नदिँदा छोराको अकालमै ज्यान गएको मृतक बालकका बुवा रामलाल सुनारले आरोप लगाउनु भएको छ ।

उहाँले असोज १८ गते जिल्ला अस्पतालको रेफर गरिएको पत्र लगेर जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेर प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बालकको उद्धारका लागि तोक आदेश गर्दा समेत हवाई जहाज कम्पनीका कर्मचारीले टिकट दिन नमानेपछि छोरा गुमाउनु परेको बताउनुभयो ।

पहुँच र पावर हुनेले मात्रै टिकट पाउँछन् तर हामी जस्ता सर्वसाधारणले हवाई टिकट नपाएरै अकालमा ज्यान गुमाउनु परेकाे मृतक बालकका बुवा रामलाल सुनारले गुनासाे गर्नुभयो ।

सोही बालकको गत साउन पहिलो हप्ता काठमाडौँको बाल कान्ती अस्पतालमा फोक्सोको एन्डोसकपी गरिएको थियो ।

साे विषयमा समिट एयर सिमकाेट विमान स्थलका स्टेशन इन्चार्ज गाेविन्द लामालाई बुझ्दा  नियमित हवाई उडान नहुनु र उडान भएका दिनमा पहिले नै टिकट बुकिङ गरेका कारण सुनारलाई टिकट दिन नसकेकाे बताउनुभयाे ।

अस्पतालले समयमै रेफर गरेको भएपनि टिकट नपाउँदा अस्पतालमा उपचारत बालकको मृत्यु भएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

अन्य

भिडियो