अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८० असोज १७ गतेबाट चितवनको सौराहामा सुरु भएको छ ।

उक्त तालिममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशा सम्बन्धमा प्रस्ट पार्नुभयो । कमैया उन्मुलन, द्वन्द्वको समयमा मानव अधिकार अभियान सञ्चालन, मावन अधिकारमैत्री कानुन निर्माण, निर्वाचनको समयमा मतदाता शिक्षा, राष्ट्रिय मानव अधिकार आयोगको स्थापनामा इन्सेकको भूमिका उल्लेखनीय रहेको अध्यक्ष डा. अर्यालले बताउनु भयो ।

मानव अधिकारको संरक्षण, सम्वद्धन, अनुसन्धान, वकालत, सङ्घर्ष क्षेत्रमा काम गरिरहेको तथा देशव्यापी र विश्वव्यापी समन्वयमा काम गरिरहेको अध्यक्ष डा. अर्यालले बताउनु भयो । मानव अधिकारको प्राथमिकता क्षेत्र व्यापक हुँदै गएको सन्दर्भमा मानव अधिकारका घटना देखिने र नदेखिने खालका हुने भएकाले नदेखिने घटनालाई सुक्ष्म तरिकाले खोज्नु पर्ने उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घले राखेको १० वर्षको द्वन्द्व रिर्पोटमा इन्सेकलाई स्रोतको रूपमा उल्लेख गरिनुले संस्थाप्रतिको विश्वासनीयता उच्च रहेको उहाँले बताउनु भयो ।
तालिममा सञ्चार एवम् परामर्शदाता विनोद भट्टराईले मानव अधिकार वर्ष पुस्तकको स्तरवृद्धिका सम्बन्धमा प्रशिक्षण दिनुभयो ।
तालिममा इन्सकेका २३ जिल्लाका सूचना सङ्कलकको सहभागिता रहेको इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेलले जानकारी दिनुभयो । समाचार लेखन र इन्सेक अनलाइन निर्देशिका सम्बन्धमा प्रधानसम्पादक पौडेल र सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराउनुभएको थियो ।
