बेनी नगरपालिका कि ३८ वर्षाया महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा बागलुङ नगरपालिका-६ का काजी भन्ने कर्णबहादुर किसानलाइ प्रहरीले गिरफ्तार गरेको छ ।
पाठेघर तथा यौन जन्य समस्याको झारफुक गर्ने निहुमा यौन हिंसा गर्दै आएको आरोप लागेका ५७ वर्षीय किसानलाई बागलुङ प्रहरीको सहयोगमा घरबाटै गिरफ्तार गरेर म्याग्दी ल्याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बसुन्धरा खड्काले बनाईन । ३८ वर्षीया महिलाको उजुरीका आधारमा किसानलाइ गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।
डिएसपी खड्काका अनुसार बागलुङमा बसेर पर्वत र म्याग्दी जिल्लाका धेरै बस्तीहरूमा पु्गेर महिलाको समस्याको समाधान गर्ने निहुँमा उनीहरूको समस्या अनुसारको यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरी समक्ष आरोपी किसानले नै स्वीकार गरेको छ ।
उक्त धामीले ‘उपचार विधि बाहिर भनेको खण्डमा झाँक्रीको मन्त्रले काम नगर्ने भन्दै तामा-तुलसी र हतियार छुवाएर सयौंपटक कसम खुवाई घरको झ्याल ढोका लगाएर बन्द कोठा भित्र सुरुमा मन्त्र भन्दै गुप्तांग पूजा गरी बलात्कार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिलाहरू चुप लागे पनि दोस्रोपटक भने घटना बाहिर ल्याए । धामीले महिलाको ढाड, कम्मर, तल्लो पेट दुख्ने रोगलाई सूत्रका रूपमा प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’खड्काले भनिन् ।
चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले किसानलाई घरमा बोलाएका थिए । टाढाको झाँक्री आएको थाहा पाएर अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् । आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खडकाले बताइन् । उनका अनुसार झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरू पनि पीडित भएको बताएका छन् ।
गिरफ्तार भएका किसानलाई जिल्ला अदालत म्याग्दी बाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसन्धान अधिकृत इन्सपेक्टर दिवाकर घिमिरेले बताए ।