INSEC Online

📅 २०८३ जेष्ठ २१

रातोपाटीका पत्रकार कृष्ण सिंह धामीमाथि आक्रमण

रातोपाटी डट कम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि ०८० असोज ८ गते ललितपुर महानगरपालिका-३, बखुन्डोलमा चार/पाँच जनाको अज्ञात समूहले आक्रमण गरेको छ ।

मोटरसाईकलमा अज्ञात समूहको मुक्का प्रहारबाट टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका धामीलाई उपचारका लागि पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको छ ।

रातोपाटी अनलाइन सञ्चालन गरिरहेको डिस्कभरी न्युज नेटवर्कका अनुसार ०८० भदौ २५ गते ‘त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति’ विषयगत स्वीकृतिका लागि विप्लवले समेत दबाब दिएको शीर्षकमा पत्रकार धामीको बाइलाइन राखेर रातोपाटी अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारप्रति आपत्ति जनाउँदै विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने भनी विज्ञप्ति जारी गरेर पत्रकार धामी र भौतिक कारबाहीको रातोपाटी अनलाइनलाई धम्की दिएका थिए ।

पत्रकार धामीलाई धम्की आइरहेकै बेला उहाँमाथि आक्रमण भएको हो । घटनाबारे रातोपाटी अनलाइनले जिल्ला प्रहरी परिसर, ललितपुरमा शान्ति सुरक्षाको माग गर्दै घटनामाथि संलग्न दोषीलाई कारबाहीको माग गर्दै मौखिक रूपमा उजुरी दिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले सिसिटिभीको सहायतामा आवश्यक जानकारी लिएर घटनामा संलग्न दोषीको खोजी कार्य सुरु गरेको इन्सेकलाई बताउनु भयो ।

पत्रकार धामीमाथि भएको धम्कीबारे नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले ०८० भदौ २७ गते नै एक विज्ञप्ति जारी गरेर प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने भनी दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाउनुभएको थियो ।

समाचारको विषयलाई लिएर विद्यार्थी सङ्गठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी भादौ २६ गते चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा भनिएको थियो, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । त्यसलाई नजर अन्दाज गर्दै सञ्चारमाध्यम र पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासङ्घ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेस विरोधी यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

अन्य

भिडियो