हिल्दुुम विद्युत वितरण केन्द्रले हाल दैनिक १८ घण्टा लोडसेडिङ गर्दै आएका कारण सुत्केरी र स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । विद्युत लोडसेडिङ बढेका कारण सिमकोट गाउँपालिका–१ र २ का ठेहे स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता भएको हो ।
जिल्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरमा लोडसेडिङको वैकल्पिक सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रको लोडसेडिङका कारण स्वास्थ्यकर्मीलाई मोबाइल र अन्य टर्च लाइट बालेर सुत्केरी गराउनु परेको ठेहे स्वास्थ्यचौकीका प्रमुख दानबहादुर बोहराले गुनासो गर्नुभयो ।
स्वास्थ्य चौकीका प्रमुख बोहराले मोबाइल र टर्च बालेर बर्थिङ सेन्टरमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको बताउनुभयो । हिल्दुम विद्युत वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत नियमित नहुने र लामो समय लोडसेडिङ हुने भएकाले गर्भवती महिलालाई सुत्केरी गराउन समस्या हुने गरेको उहाँको भनाइ छ ।
बर्थिङ सेन्टरमा भदौ २५ गते राती आठ बजे आउनु भएकी स्थानीय २० वर्षीया नन्दा भण्डारीलाई तीन घण्टा लामो समय सम्म टर्च बालेर सुत्केरी गराउनु परेको प्रमुख बोहराले जानकारी दिनुभयो । विद्युत आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलरले काम नगरेपछि स्वास्थ्यकर्मी तथा बिरामीलाई निकै समस्या खेप्नु पर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
विधुत समस्याका कारण सुत्केरी आमाहरूले सास्ती खेप्नु परेकोे मोवाइलको टर्चबाट सुत्केरी गराइएका मिना भण्डारीले गुनासो गर्नुभयो । उहाँले विधुत सेवा सुचारू भएको भए खासै समस्या हुदैन थियो होला तर के गर्ने विधुत समस्याले गर्दा म जस्तै धेरै सुत्केरी महिलाहरूले दुःख भोगिरहेको गुनासो उहाँले गर्नुभयो ।
बच्चालाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ । त्यस्तै गरी स्थानीय २८ वर्षीया कुण्डला भण्डारीलाई पनि भदौ ५ गते सुत्केरी गराउन मोवाइलको टर्च प्रयोग गर्नु परेको प्रमुख बोहराले बताउनुभयो ।
स्वास्थ्य चौकीमा सोलारको व्यवस्था नहुँदा विद्युत् नभएको बेला अन्य विकल्पबाट उज्यालो गर्न सकिने अवस्था नरहेको सिमकोट गाउँपालिका स्वास्थ्य संयाेजक नर भण्डारीले बताउनुभयो । अन्य वैकल्पिक व्यवस्था गर्न सेवाग्राहीले सरकारसँग माग गरे पनि त्यसको माग सम्बोधन हुन सकेको छैन संयोजक भण्डारीको भनाइ छ ।
यो समस्या प्राय सात ओटै गाउँपालिकाका स्वास्थ्य चौकीमा देखिने गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।