हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही अपरिचित व्यक्तिहरूको समूहले ०८० भदौ २७ गते साङ्घातिक आक्रमण गरी कुटपिट गरेको छ ।
नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा. हरि बहादुर खड्काले ड्युटीमा खटिरहेका बेला केही समूहले दुई जना चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेको बताउनु भयो ।
डा. खड्काका अनुसार दुई महिना अघि हेटौँडा उपमहानगरपालिका-१२ का एक जना डेङ्गु सङ्क्रमित बिरामी सञ्चो अस्पतालमा उपचारका लागि आएको र उहाँको उपचार सम्भव नभएपछि तत्काल भरतपुरस्थित चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । चितवन मेडिकल कलेजमा उपचाररत ती बिरामीको चार दिनपछि मृत्यु भएको थियो । सोही बहानामा दुई महिनापछि मृतक बिरामीका आफन्तले ड्युटीमा खटिरहेका डा. थापा र डा. बिडारीमाथि आक्रमण गरेको डा. खड्काले जानकारी दिनुभयो ।
उक्त कुटपिटबाट डा. बिडारीको स्वास्थ्य सामान्य रहेको छ भने डा. थापा गम्भीर घाइते हुनुभएको र उहाँको उपचार सोही अस्पतालमा भइरहेको नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा. खड्काले इन्सेकलाई जानकारी दिनुभयो ।
घटनाका आरोपितको खोजी गरी आवश्यक कारबाही गरिपाउँ भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो । कुटपिट गर्ने व्यक्तिहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।