युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजको राजविराज नपा-७ स्थित भवनमा अज्ञात समूहले असार २७ गते बिहान आगजनी गरेको छ ।

पूर्वपट्टीको झ्यालको सिसा फुटाई पेट्रोल छर्केर गरिएको आगजनीले राजविराज जेसीज भवनको तालिम कक्षमा रहेको १५ ओटा प्लास्टिकका कुर्सी दुई ओटा पङ्खा, झ्यालको सिसा, कार्पेट, बिजुली वायरिङ्ग जलेर नष्ट हुनुका साथै कोठाको रङ्रोगन बिग्रिएर करिब १ लाख रुपियाँको क्षति भएको राजविराज जेसीजका अध्यक्ष सन्तोष सिन्हाले बताए ।

सक्षम एवम् असल व्यक्तित्वको निर्माण गरी समाज विकासमा महत्वपूर्ण योगदान गरिरहेको संस्थामा भएको आगजनीप्रति यहाँको नागरिक समाजले आश्चर्य प्रकट गर्दै दुख व्यक्त गरेको छ । राजविराज जेसीज, नागरिक समाज, गैसस महासङ्घ, सबल नेपाललगायतले घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा संलग्नहरूलाई पत्ता लगाएर कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
सन् १९७६ अप्रिल १४ मा राजविराजका युवाहरूद्वारा स्थापित राजविराज जेसीजका संस्थापक अध्यक्ष इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल हुन् ।