अदानचुली गाउँपालिका–२ घर भइ बलात्कार घटनामा पूर्पक्षमा रहेका २५ वर्षीय जनक बुढालाई प्रहरीले कुटपिट गरेको उनका आफन्तले आरोप लगाएका छन ।
प्रहरीले पूर्पक्षमा रहेका भाईलाई भदौ १९ गते कुटपिट गरेको दिदी सुन्तला बोगटीले आरोप लगाउनु भएको छ । सदरमुकाम सिमकोट बजारमा तास खेलिरहेका पाँच जना जुवाडेलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरी हिरासतमा राखेपछि पूर्पक्षमा रहेका जनक बुढाले सुत्ने ठाँउ साँगुरो भएको विषय उठाएको आरोपमा हिरासत कक्षको ढोकामा डिउटीमा रहेका दुई जना नाम र ठेगाना नखुलेका प्रहरीले भित्र छिरेर साँझ ५ बजे हातले कुटपिट गरेको जनक बुढाका दिदिले बताउनु भयो । जनकको कान र टाउकोमा चोट लागेको उहाँको दिदीले आरोप लगाउनु भएको छ ।
उहाँका अनुसार भाईलाई प्रहरी हिरासतमा कुटपिटपछि पुनः सोही समयमा मुद्दा फाटमा लगेर दिवालमा टाउको र कानमा निर्घात रुपमा चोट पर्ने गरि ठक्कर दिएको छ । घटनापछि भदौ २० गते आफु भाईलाई भेटन जाँदा भाइले आफुलाई सबै कुरा बताएको जानकारी दिदै बोगटीले प्रहरीलाई किन कुटपिट गरेको भनेर बुझ्न खोज्दा आजदेखि यो महिलालाई प्रहरी कार्यालयको गेटभन्दा भित्र छिर्न नदेउ र भाईलाई पनि भेटन नदेउ भन्दै धम्कीपूर्ण भाषा बोलेको आरोप बोगटीले लगाउनु भएको छ । उहाँले आफुलाई धम्काउने इन्स्पेक्टर हुन तर उनको नाम थाहा भएन मलाई पनि धम्कीपूर्ण भाषा बोलेको आरोप लगाउनुभयो ।
प्रहरीले कुटपिट घटनाका विषयमा पीडितकी दिदीले भदौ २१ गते जिल्ला अदालतमा उजुरी गरेपछि जिल्ला अदालतले सोही दिन पीडितको घाउ चेकजाँच गर्ने भन्दै जिल्ला कारागारलाई आदेश गरेको अदालतका श्रेस्तेदार कमल कुमार आचार्यले बताउनुभयो ।
जिल्ला अदालतको आदेश अनुसार भदौ २१ गते जिल्ला अस्पतालमा घाउ चेकजाँच गरिएका घाइतेको रिर्पोट नआएको निमित्त जेलर डवल रावतले बताउनुभयो । तर जिल्ला अस्पताल हुम्लाका हेल्थ असिस्टेन्ट मानबहादुर रोकायाले बिरामीले भने अनुसारको चेकजाँच गर्दा खासै ठूलो समस्या नदेखिएको तर जिल्ला अस्पतालमा एमआरआई र सिटिस्क्यान नभएकाले ठूलो बिराम चेक गर्न नमिल्ने बताउनु भयो ।
घटनाका विषयमा डिएसपी भिमलाल भट्टराईलाई बुझ्दा जिल्लामा कारागार नभएकाले कैदी र थुनुवाहरूसँगै भएकाले सुत्ने समयमा हल्ला भएको हुँदा प्रहरीले हल्ला नगर भनेको हो खासै ठूलो विवाद नभएको प्रतिक्रिया दिनु भएको छ ।
जिल्लामा कारागार नभएकाले अदालतको आदेश अनुसार विभिन्न घटनामा पक्राउ भएका आरोपितहरु प्रहरीको हिरासतमा राख्ने गरिएको छ ।