१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका-५ मैनामैनीका १९ वर्षीय सुशान्त मगरलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको भदौ १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ६ लाख जरिबाना र २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १४ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले फागुन १४ गते घरबाटै गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ०७८ चैत ८ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको ०७८ चैत ९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ फागुन १५ गते गरिएको थियो ।