सदरमुकाम सिमकोटदेखि सात कोष टाढा रहेको बलभद्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा नियमित नआउँदा ०७३ फागुनदेखि उक्त विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् ।
सिमकोट गाउँपालिका-८ स्थित उक्त विद्यालयमा सात जना शिक्षक कार्यरत रहेकोमा व्यक्तिगत कामले शिक्षकहरू विद्यालयमा नियमित नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका सदस्य चक्रबहादुर शाहीले बताए ।
दुई वर्षदेखि उक्त विद्यालयमा राम्रोसँग पढाइ नभएको बालबालिकाले गुनासो गरेका छन् । सो विद्यालयका प्रधानाध्यापकलगायतका शिक्षक शिक्षिकाले कहिले सिमकोट जाने त कहिले आफ्नो घरको काम भन्दै टार्ने गरेकाले पठनपाठन कार्यमा बाधा पुगेको अध्यक्ष सिंहले बताए ।
सो विद्यालयमा तीन जनाको दरबन्दी रहेको छ भने दुई जना ‘गाविस’को रकमबाट र दुई जना बालशिक्षाबाट गरी सात जना शिक्षक कार्यरत रहेको व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताए । सिंहका अनुसार उक्त विद्यालयमा दुई जना शिक्षकले मात्र पठनपाठन गराइरहेका छन् ।
विद्यालयमा कार्यरत अधिकांश शिक्षक स्थानीयबासी भएकोले लापरबाही भएको स्थानीयबासी धनबहादुर शाहीले आरोप लगाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहका अनुसार अब सो विद्यालयमा नियमित पठनपाठन गर्न नआउने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको बैठक बसाली कारबाहीको पहल गर्ने बताएका छन् ।
उक्त विद्यालयका प्रद्यानाध्यापक प्रेमकला बुढाले आफू नियमित विद्यालय आएपनि केही शिक्षक विद्यालयमा नियमित नआएको बताइन् । जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले यस विषयमा शिक्षा कार्यालयमा जानकारी नआएको बताउँदै सम्बन्धित विद्यालयमा बुझेर कारबाही गर्ने बताए ।