INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा डेङ्गीका बिरामी धेरै, बेड अभावपछि भुईँमै राखेर उपचार

जिल्ला अस्पतालमा डेङ्गीका बिरामी बढेपछि बेड अभावभएसँगै बिरामीलाई भुईँमै राखेर उपचार गर्नु परेको छ ।

दैनिक १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म बिरामी जँचाउन र उपचारार्थ आउन थालेपछि जिल्ला अस्पतालमा बेड अभाव भएको हो ।

५० शैया क्षमताको अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि भुईँमा राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर ज्ञानेन्द्र झाले बताउनु भयो ।

केही बिरामीलाई औषधि र आवश्यक परामर्श दिएर घर पठाउने गरेको तर, जटिल खालका बिरामी भए भुईँमै सुताएर उपचार गर्ने गरिएको मेसु झाले बताउनु भयो ।

डेङ्गी, भाइरल ज्वरोलगायतका बिरामीको चाप बढेपछि अस्पतालमा १ सय शैया थप आवश्यक देखिएको अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले बताउनु भयो ।

हालका दिनमा ५० प्रतिशतभन्दा बढी ज्वरोका बिरामी रहेको अस्पतालको बिरामी अभिलेखमा देखिन्छ ।

०८० साउन पहिलो सातायता अस्पतालमा उपचारार्थ आउनेको संख्या अत्याधिक बढेको मेसु ज्ञानेन्द्र झाले बताउनु भयो । सुरुमा ज्वरोले स्वास्थ्य खराब भएपनि जाँचका क्रममा अधिकांशमा डेङ्गीको लक्षण देखिएको मेसु डाक्टर झाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय उदयपुरका डेङ्गी नियन्त्रण कार्यक्रम फोकलपर्सन उमेश लुइँटेलका अनुसार ०८० साउन १ गतेदेखि भदौ १६ गतेसम्मको अवधिमा १ हजार ६७ जनामा डेङ्गीको परीक्षण गरिएको छ । परीक्षण गराएकामध्ये ५ सय ४४ जनामा डेङ्गी पोजेटिभ देखिएको लुइँटेलले बताउनु भयो ।

त्रियुगा नगरपालिकामा २ सय ६० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । बेलका नगरपालिकामा १ सय ३२ जना, चौदण्डीगढी नगरपालिकामा ९१ जना र कटारी नगरपालिकामा ३९ जनामा डेङ्गी पुष्टि भएको छ ।

उदयपुरगढीगाउँपालिकामा एक जनामा डेङ्गी पोजेटिभ देखिएको छ । हालसम्म त्रियुगामा १ हजार १ सय ७५ जनाको परीक्षण गरिएको छ । बेलकामा ३ सय ७५जना, चौदण्डीगढीमा २ सय ५२ जना, कटारीमा ९७ जना र उदयपुरगढी नगरपालिकामा १३ जनाको परीक्षण गरिएको छ ।

रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने ०८० भदौको १७ गतेसम्म डेङ्गी परीक्षण कार्य सुरु भएको छैन ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले २५ दिनकी २४ वर्षीया सुत्केरी सुमित्रा मगरको भदौ ११ गते उपचारका क्रममा डेङ्गीका कारण मृत्यु भएको बताउनु भएको छ ।

रौतामाई गाउँपालिका–७ की २४ वर्षीया मगरको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरको भनाइ छ ।

स्वास्थ्य कार्यालय उदयपुरका डेङ्गी नियन्त्रण कार्यक्रम फोकलपर्सन उमेश लुइँटेलले भने गाउँपालिकाहरुमा डेङ्गीका बिरामी नभेटिएकाले चेकजाँच नगरिएको बताउनु भएको छ ।

Photo 20230903 udayapur

अन्य

भिडियो