आर्थिक अवस्था कमजोर भई कानूनी प्रक्रियामा जान समस्या भोग्दै आएकी लेकवेसी नपा–६ घरभई हाल वीरेन्दनगर नपा–१२ बस्दै आउनु भएकी २२ वर्षीया आशिका बाँकाबललाई भदौ १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानूनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
४० वर्षीय पति मनिष थापा मगरले आफूलाई पटक पटक शारीरक तथा मानसिक यातना दिदै आएको पीडितको गुनासो छ । कोभिडको समयमा मनिषले जवरजस्ती मसँग विवाह गरेपनि पछि घर परिवारसँग मिलेर मलाई विभिन्न लाल्छना लगाउन लाग्नु भयो ।
आफूलाई पटकपटक सासुले अपमान गर्नुको साथै सम्बन्ध विच्छेदको धम्की दिने र खान लाउन नदिएको भन्दै पीडितले जिल्ला अदालत सुर्खेतमा भदौ १ गते अंश र खाना खर्चसहित सम्बन्ध विच्छेदको जाहेरी दिनु भएको छ ।
माइती पक्षको आर्थिक अवस्था कमजोर भएको र कानूनी ज्ञान नभएकाले न्याय खोज्न समस्या भएपछि पीडितले आर्थिक सहयोगको मागगर्दै इन्सेकमा साउन ३२ गते निवेदन दिनुभएको थियो ।
सोही निवेदनको आधारमा इन्सेकले ३ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्रदेश संयोजक सुवेदीको भनाई छ ।
