INSEC Online

📅 २०८३ जेष्ठ २१

कक्षाकोठामा भल पस्दा विद्यार्थीलाई पठनपाठनमा समस्या

सर्केगार्ड गाउँपालिका–५ गोठी गाउँ स्थित धुमचुली प्राथामिक विद्यालयका कक्षाकोठामा भल पस्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

भिरालो जमिनमा विद्यालय भवन निर्माण गरिएको र भवनको पछाडि पानीको भल पस्ने समस्याका कारण विगत तीन वर्षदेखि वर्षाको समयमा भल पसेर हिलाम्मे कक्षा कोठामा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।

पटक पटक विद्यालयको पछाडिको भागमा रहेको माटो काटेर फाल्ने कार्य गरिए भएपनि समस्या समाधान हुन नसकेको कक्षा ५ मा अध्यायनरत छात्र अकास शाहीले गुनासो गर्नुभयो । विद्यालयको समस्याको समाधानका लागि अन्य विकल्प नभएपछि भल पसेकै कक्षाकोठामा बसेर पढ्न बाध्य भइरहेको स्थानीय अभिभावक सूर्यबहादुर शाहीले बताउनु भयो।

पानी पर्दा वित्तिकै कक्षा कोठामा भल पसेर पठनपाठनमा समस्या हुने गरेको सोही विद्यालयका प्रधानाध्यापक लोकेन्द्र मल्लले गुनासो गर्नुभयाे ।

प्रधानाध्यापक मल्लका अनुसार विद्यालयका दुईवटा भवन गरेर पाँच वटा कक्षाकोठा भए पनि सबैमा यस्तै समस्या भएको छ । उहाँले सबै कोठामा पानी पस्ने भएकाले धेरै ठूलो भल पसेपछि विद्यालय नै बन्द गर्ने गरेको र सानो भल पसेपछि पनि त्यहि कोठामा राखेर पठनपाठन गराइरहेको बताउनु भयो । यस विद्यालयमा एक सय जना विद्यार्थी रहेको विद्यालयले विगत तीन वर्षदेखि उक्त समस्या भोग्दै आएको छ ।

कक्षामा पानी पस्ने समस्या समाधानका लागि वडा, गाउँपालिका र शिक्षा क्षेत्र हेर्ने गैरसरकारी संस्थालाई सहयोग माग्दा कतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक मल्ले बताउनु भयो ।

सो विषयका बारेमा सर्केगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतलाई बुझ्दा त्यस विद्यालयको समस्या समाधान भनेको त्यहाँबाट अर्काे स्थानमा सार्ने हो तर तत्काल गाउँपालिकासँग बजेट नभएको प्रतिक्रिया दिनुभयो ।
Photo20230823Humla

अन्य

भिडियो