अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेतृत्वको टोलीले मध्यपुरथिमी नगरपालिका-२, सानोठिमी स्थित बालसुधार गृहको ०८० भदौ ५ गते अनुगमन गरेको छ ।
अनुगमन टोलीमा इन्सेक केन्द्रीय कार्यालयबाट कृष्ण गौतम र विमल पौडेल, मानव अधिकार महासन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) का तर्फबाट सम्झा श्रेष्ठ, चाइल्ड नेपालका तर्फबाट कृष्ण सुवेदी, सिजपका तर्फबाट कमला पौडेल, सिविन नेपालका तर्फबाट विष्णु प्रसाद पौडेल, बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका तर्फबाट अशोक खनाल र अधिकारकर्मी शोभाकर बुढाथोकी हुनुहुन्थ्यो ।

सुधार गृहको स्थलगत अनुगमनका क्रममा टोलीले प्रहरी प्रमुख एसएसपी ओम बहादुर राना, एसपी जनक बहादुर शाही, डिएसपी रबिन श्रेष्ठ तथा बालसुधार गृहमा खटिएका प्रहरी इन्चार्ज निल बहादुर गिरी र बालसुधार गृहमा रहेका बन्दीहरूसँग कुराकानी गर्दै भदौ ३ गते एक बन्दीको मृत्युको घटना र त्यसपछि त्यहाँ उत्पन्न परिस्थितिबारे जानकारी लिएको थियो ।

बलात्कार गरेको कसुरमा बालसुधार गृहमा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका १९ वर्षीय कमल बस्नेतको भदौ ३ गते मृत्यु भएपछि बालसुधार गृहभित्र रहेका अन्य बालबन्दीहरू आफूहरूको हेरचाहमा ध्यान नदिएको भन्दै बालसुधार गृह तोडफोड गरेर भदौ ४ गते २ सय २१ जना ‘फरार’ भएका थिए । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीका अनुसार फरार रहेका मध्ये नौ जनालाई गिरफ्तार गर्न बाँकी रहेको र उनिहरूको खोजीकार्य जारी रहेको छ ।
कुल १ सय १० जनाको क्षमता भएको बालसुधार गृहमा हाल कैदी ७० जना र थुनुवा २ सय २७ जना गरी कुल २ सय ९७ जना रहेका छन् । २ सय ९७ जनामध्ये २ सय ५४ जना बालक र ४३ जना बालिका रहेका छन् । सुधार गृहमा १२ देखि १८ वर्षका बालबालिका राख्ने भए पनि १८ वर्ष माथिका मात्रै १ सय ३१ जना रहेका छन् ।
काठमाडौँ उपत्यकाको एकमात्र बालसुधार गृहमा रहेका २ सय ९७ जनामध्ये १ सय ५४ जना बलात्कार गरेको कसुरमा परेका बालक रहेका छन् । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा ५८ जना, लागू औषधमा २१ जना, डाँकामा १६ जना, चोरीमा १३ जना, ज्यान मार्ने उद्योग, सवारी कर्तव्य ज्यान र अभद्र व्यवहारमा पाँच/पाँच जना, मानव बेचबिखनमा तीन जना, अपहरण, बालविवाह, सवारी ज्यान, बलात्कार र सवारी अङ्गभङ्गमा दुई/दुई जना, अपराधिक उपद्र, छुवाछुत भेदभाव, शङ्कास्पद कसुर, एसिड प्रहार, व्यक्ति बेपत्ता र झैझगडा मुद्दाका एक/एक जना रहेका छन् । सुधार गृहमा सईको कमाण्डमा २३ जनाको दरबन्दी रहेकोमा हाल २१ जना प्रहरी खटिएका छन् ।
बालसुधार गृहमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कहन बस्न र आवश्यक भौतिक संरचना नभएका कारण समस्याहरू रहेको बालसुधार गृहका सई निर बहादुर गिरीले जानकारी दिनुभयो । २०५८ सालमा स्थापना भई सञ्चालनमा रहेको बालसुधार गृहमा कक्षा ५ देखि कक्षा १० सम्म पढाई हुने गरेको छ भने कक्षा १० भन्दा माथिका विद्यार्थीलाई सुधार गृह बाहिरको विद्यालयमा पठाउने गरिएको सई गिरीले जानकारी दिनुभयो ।

सुधार गृहमा सञ्चालित विद्यालयमा पढाउन हाल तीन जना महिला र एक जना पुरुष शिक्षक आउने गरेको गिरीले उल्लेख गर्नुभयो । सुधार गृह प्रशासनले थप शिक्षको माग गरेपनि अहिलेसम्म पदपूर्ति नभएको गिरीले बताउनु भयो । बालसुधार गृहमा कैद भुक्तान गरिरहेकी मध्यकै एक जना महिला बन्दीले आफूलाई सुधार गृहको स्कुलमा पढाउन शिक्षक नियुक्त गरिएको र आफ्नो तलब मासिक जम्मा एक हजार रुपैयाँ रहेको बताउनु भयो ।
बालसुधार गृहका एक जना बन्दीले सुधार गृहमा व्यवस्थापनले बन्दीको मानव अधिकारको व्यापक उल्लङ्घन गरेको बताउनु भयो । उहाँले कैदीबन्दीको वृत्ति विकासका कार्य र स्वास्थ्य उपचार लगायतका समस्यामा प्रशासनले व्यवास्ता गर्ने गरेको उल्लेख गर्नुभयो । ‘प्रशासनले हामीहरुको खानपानमा, मानसिक विकास र स्वास्थ्य उपचारमा उचित ध्यान दिएको छैन, शौचालयमा धारा त छ तर पानी आउँदैन, स्वास्थ्य सामग्रीका रुपमा सुधार गृहमा सिटामोल र जीवनजल मात्र छ, बिरामी भएर बन्दी गम्भीर अवस्थामा पुगेपनि प्रशासनले उपचारका लागि अस्पताल लैजाँदैन’, उहाँले भन्नुभयो ।
बिरामी भएको बेला वार्डेनले सुधार गृह नजिकैको भुपेन्द्र क्लिनिकमा जानका लागि चिट दिएर पठाउने गरेको तर क्लिनिकले प्रशासनले बन्दीको उपचारमा लागेको पैसा नतिरेको भन्दै बिरामी बन्दीहरूलाई फिर्ता पठाइदिने गरेको नेपालगञ्जको बालसुधार गृहबाट भक्तपुरस्थित बालसुधार गृहमा स्थानान्तरण गरिएका एक बन्दीले इन्सेकसँग गुनासो गर्नुभयो । जटिल रोग लागेर बिरामी परेको अवस्थामा घर फोन गरेर परिवारका सदस्य बोलाएर पैसा ल्याए मात्र आफूहरूलाई बाहिर अस्पतालमा लाने गरेको उहाँको भनाई छ ।
कारागार व्यवस्थापन विभाग मातहत रहेको बालसुधार गृहको व्यवस्थापन न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालले गर्दै आएको छ ।
