आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–३ की ३६ वर्षीया पदमी बुढालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले भदौ १ गते कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
पीडितको पति सोही ठाउँका ४५ वर्षीय डिलबहादुर बुढा र ४० वर्षीय देवर सुरेन्द्र बुढाले पटक पटक कुटपिट गरी घरेलु हिंसा गरेका कारण पतिबाट सम्बन्धविच्छेद गर्नका लागि पीडितले जिल्ला अदालत सुर्खेतमा साउन ११ गते सम्बन्ध विच्छेदको फिराद दर्ता गर्नुभएको थियो । सोही मुद्दाको अहिले विचाराधिन अवस्थामा छ । तारिख लिन आउँदा जाँदा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको अपिल गर्दै इन्सेकमा निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा इन्सेकले नगद १५०० रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।
पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।
यसै गरी इन्सेककै पहलमा पीडित बुढालाई ओसिएमसिमा रेफर समेत गरिएको थियो । मानव अधिकार सहायता कक्षको साउन ३२ गते बसेको बैठकले कालिकोटका दुई, जुम्लाका एक र सुर्खैतका एक जनालाई न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको थियो ।
